आइतबार, १८ जनवरी, २०२६
01:58 | ०७:४३

राष्ट्रियसभाको १९ औँ अधिवेशन आइतबारदेखि

रासस जनवरी १७, २०२६

काठमाडौँ, माघ ३ गते । राष्ट्रियसभाको १९ औँ अधिवेशन माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ।

अधिवेशन तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्रट पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभा अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रियसभाको १८ औँ अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचन तयारी गरेको छ । राष्ट्रियसभा सदस्यमा एकजना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू