हुक्काको प्रयोग चुरोटभन्दा बढी हानिकारक


काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन ? वा हुक्का सुर्तीजन्य पदार्थबाट नबनी, पानीको वाफको धुवाँ हो भनेर सेवन गरिरहनुभएको त छैन ? यदि त्यसो हो भने, तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा पनि बढी हानिकारक हुन्छ । र, सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको सुरुआती चरण बन्न सक्दछ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ ले सार्वजनिक ठाउँमा हुक्का खान प्रतिबन्ध गरे पनि रेष्टुरेन्ट, चियापसलमा यसका सेवनकर्ता बढिरहेका छन् । नियमन गरी कानुनी कारबाही गर्न लागिपरेको ढुङ्गानाले बताए ।
हुक्का के हो ?
हुक्का पाइपको माध्यमबाट सुर्तीलाई बलिरहेको कोइलाले तातो बनाई धुवाँ निकालेर सेवन गरिन्छ । हुक्कामा सुर्तीको पातको धुलो प्रयोग गरिन्छ र यो विभिन्न स्वाद वा सुगन्धमा पाइन्छ । त्यो सुगन्धले हुक्का मानिसलाई खाउँखाउँ गराउँछ । हुक्का खाँदा मानिसलाई स्याउ, पुदिना, चकलेट, नरिवल, खरबुजाजस्ता सुगन्ध आउने गर्दछ ।
नेपालमा हुक्काजन्य सामग्रीको प्रयोग निरन्तर बढिरहेको छ । विशेषगरी १५ देखि ३० वर्षका युवामा यसको प्रयोग बढी देखिन्छ । “हुक्का सेवन गर्दा धुवाँ हामीले लिन्छौँ । सुर्तीजन्य पदार्थ बनेको धुवाँ पानीबाट फिल्टर भएर आइरहेको छ भन्ने हामीले सोचेको हुन्छौँ, तर त्यो गलत हो । पानी भएर धुवाँ आउँदा रसायन पनि पानीमा धुलिन्छ,” सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख ढुङ्गाना भन्छन्, “हुक्कामा धुवाँको तापक्रम घटाउनका लागि पानी प्रयोग गरिन्छ । पानीमा मिसिएपछि धुवाँ झन् खतरनाक हुन्छ । सेवन गर्दा धुवाँ पानीको वाफमात्र हो भन्नु गलत हो ।”
फ्लेवरले आकर्षित गराउँछ
हुक्कामा विभिन्न फ्लेवरका कोइला, ब्रिकेट राखिएका हुन्छन् । ती फ्लेवरले नै मानिसलाई हुक्का खान लोभ्याउँछ । सुरुमा हुक्काको बास्ना मन पर्दैन तर हुक्कामा राखिएका फ्लेवरले नमीठो बास्नालाई मीठो बनाउँछ । त्यसपछि मान्छेलाई हुक्का मन पर्न थाल्छ । हुक्कामा स्याउ, स्ट्रबेरी, बबलगमजस्ता फ्लेवर हुन्छन् । फ्लेवरको कारण धुवाँ खाँदा बास्ना मीठो हुन्छ । निकोटिनले लत बसाउने र फ्लेवरले धुवाँलाई मीठो बनाउने भएपछि अहिलेका युवामा होटल, रेष्टुरेन्ट, क्याफे र चियापसलमा हुक्का खाने प्रचलन बढ्दै गएको छ । निकोटिनले सिधै क्यान्सर नबनाउने तर मुटुसँग सम्बन्धित रोग निम्त्याउने गर्दछ ।
फ्लेवरमा हानिकारक रसायन
फ्लेवरमा विभिन्न रसायन हुन्छन् । ती रसायनले मानिसलाई क्यान्सरजस्ता प्राणघातक रोग निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् । ह्याम्स अस्पतालकी वरिष्ठ फोक्सो रोग तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डेले हुक्का धेरै मानिसले हानिकारक होइन भनेर सेवन गरिरहेको बताइन् ।
“हुक्कामा भएको खराब पदार्थ पानीमा नै बस्छ भन्ने सोचाइ छ, तर हुक्का तान्दा पानी तान्ने होइन, क्यान्सर गराउने पदार्थ पानीको फोकामा हुन्छ । त्यही तान्ने हो । पानीमा पदार्थ बस्छ भन्ने सोचाइ गलत छ,” उनले भनिन्, “त्यही गलत सोचाइले गर्दा हुक्काले केही गर्दैन भनेर मानिसले सेवन गरिरहेका हुन्छन् ।”
संसारभरि चुरोट खाने मानिस घटिरहेका छन् तर चुरोटको सट्टा हुक्का र भेपको सेवन बढिरहेको छ । डा. पाण्डेले हुक्का पाइपबाट तान्दा कोइला ब्रिकेटमा भएको कार्सिनोजेनिक (क्यान्सर गराउने तत्व) शरीरमा प्रवेश गर्ने बताइन् । “हुक्का तान्दा मुखमा धेरै धुवाँको वाफ जान्छ । त्यो मुखमा चुरोटभन्दा धेरै बढी धुवाँको बाफ हुन्छ,” उनले भनिन्, “हुक्काको धुवाँको वाफको मात्रा मुखमा जाने भएकाले निकोटिनसँगै क्यान्सर बनाउने कार्सिनोजेनिक र आर्सनिकजस्ता रसायन हाम्रो शरीरमा जान्छन् । ती रसायनले पछि हुक्का सेवनकर्तालाई मुख, फोक्सो, खानाखाने नलीको क्यान्सर बनाउँछ ।”
एउटा हुक्का बराबर सय चुरोट
हुक्का सेवनकर्ताले एक पटकमा ३० देखि ४५ मिनेट निरन्तर धुवाँ तानिरहेका हुन्छन् । अध्ययनअनुसार ४५ मिनेटसम्म नियमित हुक्का तान्ने हो भने त्यो सय चुरोट बराबर हुने डा. पाण्डे बताउँछिन् । “एक सर्को चुरोट र एक सर्को हुक्कामध्ये हुक्कामा धुवाँको मात्रा बढी हुन्छ । मान्छेले गफ गर्दै हुक्का तानिरहेको हुन्छ । उसले कम्तीमा ३० देखि ४५ मिनेट लगाएर हुक्का खान्छ । यसरी हुक्का खाँदा सयवटा चुरोट बराबर सेवन गर्दछ,” उनले भनिन् ।
क्यान्सर गराउने उच्च सम्भावना
हुक्का सेवन गर्दा कोइलाबाट निस्कने धुवाँमा हानिकारक क्यान्सर बनाउने तत्व, धातु तथा कार्बन मोनोअक्साइड हुन्छन् । अमेरिकी लंग्स एसोसिएसनले पनि हुक्काले क्यान्सर रोग बनाउने पुष्टि गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हुक्कामा कार्सिनोजेनिक, हाइड्रोअक्साइड, नाइट्रोजन, नाइट्रिक एसिड, निकोटिन, फिनोलस र फिनोल डेरिभेटिभसजस्ता हानिकारक रसायन हुन्छ ।
डा. पाण्डेले हुक्कामा प्रयोग गरिने कोइला र ब्रिकेटमा कार्बन मोनोअक्साइड हुने बताइन् । “चुरोटभन्दा हुक्कामा चार प्रतिशत बढी कार्बन मोनोअक्साइड हुने गर्दछ,” उनले भनिन्, “कार्बन मोनोअक्साइडले हुक्का तान्दा हाम्रो मुटुको चाल बढाउँछ । यसले गर्दा उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने र फोक्सो, मुटु, खाना खाने नलीको क्यान्सर बढी देखिने गरेको छ ।”
डा. पाण्डेका अनुसार अध्ययनले १३ वर्षमाथिका ५० प्रतिशतले आफ्नो जीवनकालमा एकपटक हुक्का तानेको देखाएको छ तर तीमध्ये १० प्रतिशतमात्र धुमपान गर्ने रहेको र बाँकीले हुक्का हानिकारक छैन भनेर खाने गरेका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पनि हुक्काको धुवाँमा सिगरेटजस्तै र कतिपय अवस्थामा अझ बढी कार्सिनोजेनिक रसायन, कार्बन मोनोअक्साइड, टार र सुक्ष्म कण हुने बताउँछन् । उनका अनुसार हुक्का तान्दा ती कणलाई पानीले छानेजस्तो देखिए पनि ती विषालु पदार्थ फोक्सोसम्म सजिलै पुग्ने र पछि क्यान्सर निम्त्याउँछ ।
पछिल्लो समय क्याफे–लाउञ्ज, रेष्टुरेन्टमा भेला भएका युवामाझ ‘स्टाइलिस’ र ‘कम हानिकारक’ भन्ने गलत धारणाका कारण यसको सेवन बढेको उनी बताउँछन् । हुक्का सेवनले फोक्सोको क्यान्सर, मुख र घाँटीको क्यान्सर, फोक्सोको क्षमता घट्ने र हृदय रोगको जोखिम बढाउने हुन्छ ।
हुक्का सेवन गर्दा सधैँ एउटै पाइप/नली प्रयोग गर्दा क्षयरोग, हेपाटाइटिस, फ्लुजस्ता रोग सर्नसक्ने सम्भावनासमेत हुने गर्दछ । हुक्का सुगन्धित र सामाजिक देखिए पनि सुरक्षित नभएको भन्दै यसले गम्भीर स्वास्थ्य जोखिम गराउने उनी बताउँछन् ।
हुक्कापछि चुरोटमा लत
हुक्का सधैँ खान नपाइएपछि सेवनकर्ता चुरोट सेवनतर्फ आकर्षित हुन्छन् । “हुक्का महँगो पर्दछ र सधैँ पायक पर्ने ठाउँमा पाइँदैन,” क्यान्सर रोग विशेषज्ञ डा. शाहीले भने, “त्यसपछि हुक्का सेवन गर्ने मानिस चुरोट सेवन गर्न थाल्दछन् ।”
हुक्काको सेवन गर्ने व्यक्तिसँगै सेवन नगर्ने तर नजिक बस्ने अन्य व्यक्तिलाई समेत असर गर्दछ । गर्भवती हुँदा महिलाले हुक्का सेवन गरेमा शिशु जन्मँदा कम तौलको जन्मने र त्यस्ता शिशुमा श्वासप्रश्वाससम्बन्धी समस्या, समयअगावै जन्मने र शिशुको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने गर्दछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




