आइतबार, ११ जनवरी, २०२६
20:50 | ०२:३५

त्रिशूली किनारमा भेटियो पुरिएको गाडी, उत्खनन गर्दै प्रहरी

नेपाली लिङ्क जनवरी ११, २०२६

नारायणघाट-मुग्लिन सडकको सिमलताल नजिकै त्रिशूली नदी किनारमा गाडीका पाटपुर्जा भेटिएको छ।

आइतबार बिहान सिमलतालबाट केही तल तनहुँतर्फ पर्ने नदी किनारमा बालुवामा पुरिएको अवस्थामा गाडीका पाटपुर्जा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

उक्त पाटपुर्जा अघिल्लो वर्षको असार २८ गते सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको बसको पाटपुर्जा भएको भनेर सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ।

चितवनका डिएसपी खनालले पाटपुर्जा सिमलतालमै खसेको बसको हुन सक्ने सम्भावना रहेको तर यकिन भइनसकेको बताए।

‘त्यही बस हो कि अरू नै हो भन्ने यकिन भएको छैन,’ उनले भने।

अघिल्लो वर्ष खसेको ठाउँबाट केही तल मात्रै भेटिएकाले पनि त्यसको सम्भावना हुने उनले बताए।

त्यसबारे थप खोजी र जाँचपछि मात्रै थाहा हुने डिएसपी खनालले बताए।

गत वर्षको असार २८ गते राति बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बस र बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेको थियो।

दुवै गाडीमा सवार ३९ जना यात्रु अझै बेपत्ता छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू