कांग्रेस विशेष महाधिवेशनः ६० प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी



काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा भोलिदेखि विशेष महाधिवेशन सुरू हुने भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशन पुस २७ र २८ गते चल्नेछ।
भोलि विभिन्न क्षेत्रबाट निस्केको र्याली भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ। विशेष महाधिवेशन पक्षधरले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरेका छन् तर उनी सहभागी हुने अवस्था क्षीण बन्दै गएको छ।
महाधिवेशन प्रतिनिधिहरू भने काठमाडौं आइसकेका छन्।
विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ।
भृकृटीमण्डपमा शनिबार भएको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी गरिएको हो।
विशेष महाधिवेशनको माग गर्दा असोज २९ गते ५४.५८ प्रतिशतले हस्ताक्षर गरेका थिए। त्यो संख्या बढ्दो रहेको उनीहरूको भनाइ छ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशनका पक्षमा अहिले पनि हस्ताक्षर गर्ने र खुल्ने क्रम जारी रहेको बताए।
सभापति देउवालाई लामो समय साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छन्।
शिवाकोटीका अनुसार तनहुँ, झापा, धनुषा, रूपन्देही, मनाङ लगायतका जिल्लामा थप महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका पक्षमा खुलेका छन्।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



