सोमबार, १ डिसेम्बर, २०२५
13:37 | १९:२२

कांग्रेसको केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौँमा हुने

रासस डिसेम्बर १, २०२५
पाटन । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ गतेदेखि तीन दिनसम्म महाधिवेशन गर्ने मिति तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
गत असोज २८ गतेदेखि चलिरहेको केन्द्रीय समितिको बैठकले आज विभिन्न निर्णयहरू गरेको छ । प्रवक्ता डा. महतले केन्द्रीय महाधिवेशनको तयारी अन्तर्गत यही मङ्सिर २० गतेभित्र क्रियाशील सदस्यहरूको विवरण वितरण गर्ने कार्यतालिका स्वीकृत भएको बताए ।
उनका अनुसार, “मङ्सिर २४ गतेसम्म क्रियाशील सदस्यता नवीकरणको काम सकिनेछ र पुस ८ गतेसम्म नयाँ क्रियाशील सदस्यहरूको सबै काम सम्पन्न गरिनेछ । नयाँ क्रियाशील सदस्यहरूमा समावेशी, युवा र पार्टीमा भर्खरै प्रवेश गरेकाहरूलाई पनि समेट्ने निर्णय भएको छ।”
पार्टीको निर्णय अनुसार, पुस १५ गतेभित्र जनसम्पर्क समितिको अधिवेशन, पुस १६ गते गाउँ तथा नगर वडा अधिवेशन, पुस १७ गते गाउँ तथा नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेश क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ ।
त्यसैगरी, पुस २२ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तथा पुस २३ र २४ गते सातै प्रदेशको अधिवेशन गर्ने निर्णय भएको छ ।
आजको बैठकले मङ्सिर २३ गते सकिने केन्द्रीय समितिको म्याद माघ महिनाको अन्त्यसम्म थप्ने निर्णय पनि गरेको प्रवक्ता डा. महतले जानकारी दिए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू