शुक्रबार, १३ मार्च, २०२६
02:53 | ०८:३८

एकै दिन निर्वाचन आयोग र सर्वोच्चमा पुग्यो एमाले

नेपाली लिङ्क नोभेम्बर २५, २०२५


काठमाडौँ । शुरुदेखि नै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आएको नेकपा एमाले आज एकै दिन पारेर निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेको छ।

आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता (अद्यावधिक) गर्न निर्वाचन आयोग कान्तिपथ पुगेको एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आजै सर्वोच्च अदालत पनि पुगेको हो।

मंगलबार एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यसहितका नेताहरु निर्वाचन आयोग पुगेर दल (अद्यावधिक) दर्ता गरेका हुन्।

एमाले आयोगमा ९७१ नम्बरमा दर्ता भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता दलमध्ये एमाले ६६ औं नम्बरमा दर्ता भएको छ।

दल दर्ता गरेकै दिन एमालेले रामशाहपथस्थित सर्वोच्च अदालत पुगेर प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पनि दिएको छ।

गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएको थियो।

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा कात्तिक २७ गते गैरदलीय सरकार गठन भएको थियो।

कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते चुनावको मिति तोकेको थियो। तर एमालेले कार्की नेतृत्वको सरकार र प्रतिनिधि सभा विघटन दुवै असंवैधानिक भन्दै पुनर्स्थापनाको माग अघि सारेर सडक र अदालत दुवै उपयोगको नीतिमा छ।

केन्द्रीय कमिटी बैठकमार्फत् नै निर्णय गरेर प्रतिनिधि सभा पुनर्स्थापनाका लागि न्याय निरुपणमा जाने निर्णय गरेको एमालेले मंगलबार नै रिट निवेदन बोकेर सर्वोच्च अदालत पुगेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू