शनिबार, २२ नोभेम्बर, २०२५
14:50 | २०:३५

कांग्रेसले गर्‍यो चुनावमा भाग लिने निर्णय

नेपाली लिङ्क नोभेम्बर २२, २०२५

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते तय भएको चुनावमा भाग लिने भएको छ।

केन्द्रीय कार्यसमितिको बैठकबाट कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।

महामन्त्री गगनकुमार थापाले चुनावको विरोध गरिरहेकाहरूसँग छलफल गरेर चुनावमा ल्याउन पहल गर्ने समेत बताए।

‘फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ,’ केन्द्रीय कार्य समिति बैठकपछि उनले भने, ‘त्योसँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ। उनीहरुसँग संवाद गर्दछ, उनीहरुलाई निर्वाचनमा ल्याउनु पर्छ भन्ने पहल हुन्छ।’

सँगै तोकिएकै समयमा चुनाव गराउन सरकारलाई खबरदारी गर्ने समेत उनले उल्लेख गरे। ‘सँगै निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्दछ,’ थापाले भने, ‘हातहतियार बाहिर छन्, कैदीहरु फरार छन्। राजनीतिक दलहरुले निर्वाधरुपले आफ्ना गतिविधि गर्न पाउनु पर्छ। सरकार राजनीतिक दलहरुले निर्वाध आफ्ना गतिविधि गर्न पाउनु पर्नेतिर गम्भीर भइरहेको छैन। फागुन २१ भन्दा अर्को कुनै पनि निकास नेपालको अहिलेको जटिलताले पाउँदैन।’

उनले केही राजनीतिक दल र समूहले जबरजस्ती उत्तेजना फैल्याउने काम गरेको समेत आरोप लगाए। ‘केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैल्याउने, प्रतिशोध, निषेधको भाव फैल्याउने काम भएको छ,’ थापाले भने, ‘सरकारलाई थप अन्योलतामा लैजाने प्रवृत्ति देखिएका छन्। यो गलत छ, यसको विरुद्धमा हामी उभिन्छौँ।’

यस्तो छ कांग्रेसको निर्णय

अन्तरिम सरकार गठन, प्रतिनिधि सभा विघटन र निर्वाचन सम्बन्धमाः

१). २०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ। निर्वाचनमार्फत् नै संविधानको रक्षा तथा जेन-जेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ।

२). निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ। तर हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्वाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसकनु- यी सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन्। तत्काल शान्ति-सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।

३) भदौ २४ गते मुलुकमा अकल्पनीय विध्वंस र अराजकताको अवस्था सिर्जना भएको जटिल परिस्थितिमा तत्कालीन संकटबाट देशलाई बाहिर निकाल्ने र संविधानको संरक्षण गर्ने प्रश्न अत्यन्त संवेदनशील बनेको थियो । सरकारविहीन अवस्थाका बीच प्रदर्शनरत जेन–जेड युवाहरूको माग सम्बोधन र शान्ति–सुरक्षा कायम गर्न सम्माननीय राष्ट्रपतिले संसद बाहिरबाट अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नु पर्ने अवस्था आयो। यद्यपि, संवैधानिक व्यवस्था अनुसार संसद भित्रैबाट निकास खोज्न सकिन्थ्यो भन्ने कुरामा नेपाली कांग्रेसको स्पष्ट धारणा थियो।

नेपाली कांग्रेस कार्यसम्पादन समितिको असोज ३ गतेको बैठकमा पनि भनिएको थियो- “संसद विघटनको उपक्रम संविधानको परिकल्पना तथा सम्मानित अदालतको व्याख्या विपरीत छ। संसद विघटन असंवैधानिक छ। यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको छ। संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ।” अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेस विश्वास गर्दछ।

४) विद्यमान शान्ति–सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर चिन्ता व्यक्त गर्दछ। यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन सक्दैन। त्यस्तै, लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन। यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ। यसले समाजमा थप ध्रुवीकरण र हिंसा निम्त्याउने सम्भावना बढाउँछ। अतः अहिले उत्तेजना होइन, संयम; निषेध होइन, संवाद; अविश्वास होइन, विश्वास र समझदारी आवश्यक भएकोले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवाद मार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आव्हान गर्दछ।

५) नेपाली कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आव्हानमा जनताले धैर्य, संघर्ष र त्यागका माध्यमबाट स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास हाम्रो साझा जिम्मेवारी हो। यसका लागि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ। साथै, निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्वद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू