बिहीबार, १३ नोभेम्बर, २०२५
15:55 | २१:४०

मधेश प्रदेशका सभामुखविरुद्ध प्रस्ताव दर्ता, प्रदेश सभामा तनाव

नेपाली लिङ्क नोभेम्बर १३, २०२५

मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल

काठमाडौँ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचारण नगरेको भन्दै असन्तुष्ट सात राजनीतिक दलले उनीविरुद्ध प्रस्ताव दर्ता गराएका छन्। सात दलका ६४ जना सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालय पुगेर सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता गरेका हुन्।

सभामुखविरुद्धको प्रस्ताव लिएर प्रदेश सभा सचिवालय पुगेका सांसदहरुलाई एमाले कार्यकर्ताले अवरोध गरेका र केहीबेर झडपको स्थिति सिर्जना भएको थियो।

उपसभामुख बबिता राउत इशरले तोक लगाइसकेको प्रस्ताव सभामुख मण्डलले दर्ता गर्न रोकेका थिए। तर, अबेर कर्मचारीले दर्ता गरेको बताइएको छ।

झडपका क्रममा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका सांसद राजकुमार गुप्तामाथि हातपात भएको छ। प्रदेश सांसद महतोले आफूहरू सभामुखविरुद्ध प्रस्ताव दर्ता गराएर निस्किने बेला आफूहरूमाथि सभामुखसहित एमाले कार्यकर्ताले हातपात गरेको आरोप लगाएका छन्।

गत शनिबार तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने बेला सभामुख मण्डलले तटस्थ भूमिका नखेलेको भन्दै नेपाली कांग्रेससहितका सात दल सभामुख मण्डललाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएका थिए।

सभामुखले एमालेको भएको कारण सत्तापक्षीय दलहरू छलफल गरिरहेकै बेला सभामुख मण्डलले सदनको कामकारबाही अगाडि बढाएको र बाध्य भएर तत्कालीन मुख्यमन्त्री सोनलले राजीनामा दिनु परेको सात दलीय गठबन्धनको भनाई छ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ (१) नियम १८० को उपनियम १ बमोजिम सभामुखलाई पदीय अनुकूल आचरण सम्बन्धी दर्ता गराउने व्यवस्था छ। यसमा ६४ जना सांसदले हस्ताक्षर गरेका छन्। सभामुखविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाई बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। हाल मधेश प्रदेश सभामा १०७ जना सांसद रहेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू