सोमबार, १० नोभेम्बर, २०२५
18:31 | ००:१६

पदमुक्त भइन् मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी

नेपाली लिङ्क नोभेम्बर १०, २०२५

काठमाडौं। सोमबार बसेको मन्त्रिपरषद् बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ।

मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा प्रदेश प्रमुख भण्डारीलाई हटाइएको सरकारका प्रवक्ता एवम् सञ्‍चारमन्त्री जगदिश खरेलले बताए।

आइतबार मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको लागि खबरदारी गरेका थिए।

प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्। तर अस्वस्थताको कारण देखाउँदै काठमाडौं जान्छु भनेर निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले होटल पानसमा कात्तिक २३ गतेको मितिमै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएकी थिइन्। त्यही होटलमै उनले शपथ पनि खुवाएकी थिइन्।

मुख्यमन्त्रीको नियुक्ति तथा शपथ होटेलमै गराएको घटना सार्वजनिक भएपछि प्रदेश प्रमुख भण्डारीको चौतर्फी आलोचना भएको थियो।

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका थिए भने प्रदेश सांसद तथा दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख बस्‍ने आवास र मुख्‍यमन्त्रीको कार्यकक्षमा तोडफोड गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू