लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल पारौँ- राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र लोकतन्त्रलाई अझ सुदृढ बनाउन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल पार्न सबैलाई आह्वान गरेका छन्।
सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सव तथा एनटीभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।
‘नेपाली जनताको ठूलो बलिदानीबाट स्थापित लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि सञ्चारमाध्यमको योगदान अपरिहार्य छ,’ राष्ट्रपति पौडेलले भने, ‘युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्दै संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउन निर्वाचन सफल पार्नुपर्छ।’
उनले सञ्चारमाध्यमहरूलाई नागरिकलाई सत्य, तथ्य र विश्वसनीय जानकारी प्रदान गर्न जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे। ‘सार्वजनिक सेवा प्रसारण कुनै सरकारी वा व्यावसायिक स्वार्थको संस्था होइन, यो नागरिकको संस्था हो,’ उनले भने, ‘यसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर राष्ट्रहितमा काम गर्नुपर्छ।’
राष्ट्रपति पौडेलले गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिँदै गएको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विश्वसनीय र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याए। उनका अनुसार, ‘सत्य-तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको नैतिक कर्तव्य र नागरिकको मौलिक अधिकार हो।’
सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रभाव बढेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोगबाट जनतालाई भ्रममा पार्ने जोखिम रोक्न जिम्मेवार सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए।
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने सरकारी प्रयासको प्रशंसा गर्दै उनले भने, ‘यी दुवै संस्थाको विरासतलाई जोगाउँदै नयाँ परिप्रेक्ष्यमा अघि बढाउन चुनौती भए पनि हरेक चुनौती नयाँ अवसर पनि हो। सरकारले यसको सफलताका लागि पूर्ण सहयोग गर्नेछ।’
राष्ट्रपति पौडेलले लोकतान्त्रिक मूल्य र स्वतन्त्र व्यावसायिक पत्रकारिताका मान्यताअनुरूप स्वच्छ, निष्पक्ष र जनमुखी सूचना प्रवाह गर्ने सञ्चारकर्मीको भूमिकामाथि पनि जोड दिए।



