शुक्रबार, ७ नोभेम्बर, २०२५
22:56 | ०४:४१

संवादले मात्रै लोकतन्त्र बलियो हुन्छ- राष्ट्रपति

नेपाली लिङ्क नोभेम्बर ७, २०२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन्।

संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुसँग शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

उनले जनताको आवाज सुनेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सके लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुने बताए।

राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत बनाउन सकिने बताए।

प्रतिनिधि सभा सदस्यको आगामी फागुन २१ गतेका निर्वाचन सफलतापूवर्क सम्पन्न गर्नु सबैको साझा दायित्व भएको पौडेलले बताए।

राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र उत्तरदायित्व नभई सामूहिक राष्ट्रिय दायित्व भएको बताए।

उनले नेपालको संविधान केवल एउटा कानुनी दस्ताबेज मात्र नभई यो हाम्रो सहयात्रा, सहमति र सामूहिक सङ्कल्पको मार्गचित्र भएको बताउँदै यसको संरक्षणमा हामी सबै लाग्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गरेर नभइ सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पारे।

भेटमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, उपाध्यक्ष विमला घिमिरे, लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धिताल, मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, कोशी प्रदेशका उपसभामुख श्रृजना दनुवार र बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाइँ सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू