शुक्रबार, ७ नोभेम्बर, २०२५
00:53 | ०६:३८

एकथोपा पनि रगत नबग्ने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री

रासस नोभेम्बर ६, २०२५

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले एकथोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।

द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिइन् । आन्फ्रेल थाइल्याण्डको बैंककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सञ्जाल हो ।

सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्याङ्कन गर्न काठमाडौँ आइपुगेको छ ।

लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरू विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताएका थिए ।

“तपाईँको लामो समयदेखिको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनः संरचना सम्भव हुने देखेका छौँ र त्यसले लोकतान्त्रिक संस्थालाई जोगाउनेछ”, प्रतिनिधिमण्डलको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकले चासो देखाएपछि निर्वाचन सुरु भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो, यसैमा केन्द्रित छौँ । स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ । यहाँहरूको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ ।”

आन्फ्रेल प्रतिनिधिहरूसँगै नेपालको निर्वाचन पर्यवेक्षकको सञ्जाल नियोकका पदाधिकारी तथा सदस्य पनि थिए । उनीहरूले यसपाली पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा व्यापक उत्साह देखिएकाले मतदाता शिक्षामा विशेष जोड दिन सुझाव पनि दिएका छन् । सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन तयारी तीव्र पारेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू