आइतबार, १६ अगस्ट, २०२६
18:25 | २३:१०

लन्डनवासी साहित्यकार पोख्रेलको कृति चितवनमा सार्वजनिक

नेपाली लिङ्क अक्टोबर २३, २०२५

चितवन — शिक्षाविद् तथा संस्कृतिविद् स्व. बालमुकुन्द पोख्रेलको जीवन र योगदानमाथि आधारित नवीनतम पुस्तक ‘बुबास् केही जीवनी, केही सञ्जीवनी’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।

लन्डनवासी साहित्यकार दुर्गाप्रसाद पोख्रेलले उक्त पुस्तक लेखेका हुन् ।

लोकार्पण कार्यक्रममा समाजसेवी, शिक्षासेवी, संस्कृतिकर्मी र साहित्यकारहरूको उल्लेखनीय उपस्थिति थियो। विशेषगरी कार्यक्रममा स्वर्गीय बालमुकुन्द पोख्रेलका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

स्व. पोख्रेलको २५औं पुण्यतिथिको अवसरमा प्रकाशित यो कृतिको प्रमुख अतिथि समाजसेवी कृष्णलाल सापकोटाले पुस्तक विमोचन गर्दै स्व. पोख्रेलको जीवन, आदर्श र कर्मबाट आजको समाजले मार्गदर्शन पाउन सक्ने उल्लेख गरे।

कार्यक्रममा समीक्षकका रूपमा प्रा. डा. एकनारायण पौडेल र प्रा. डा. दामोदर रिजाल उपस्थित थिए । दुवैजना समीक्षकले पुस्तकमा समेटिएको बालमुकुन्द पोख्रेलको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्दै कृति केवल जीवनी नभई शिक्षाप्रद र प्रेरणादायी ‘सञ्जीवनी’ बनेको बताए ।

सो अवसरमा शिक्षाविद् भुवानीप्रसाद पौडेलले आफ्नो विद्यार्थी जीवनदेखि स्व. पोख्रेलसँगको गुरु–शिष्य सम्बन्धका अनुभवहरू साझा गर्दै भने, “बालमुकुन्द गुरु आफूभन्दा अरूलाई अवसर दिँदै अगाडि बढाउने स्वभावका हुनुहुन्थ्यो। उहाँको वरिपरिका सबै व्यक्तिहरूको व्यक्तित्व विकास भएको थियो, जसबाट आजको स्वकेन्द्रित समाजले पाठ सिक्नुपर्छ।”

त्यस अवसरमा समाजसेवी हरिराज पौडेल, देवीरमण अधिकारी, साहित्यकार केदारनाथ खनाल, एल.बी. क्षेत्री, रवि किरण निर्जीव र प्रा.डा. गुरुप्रसाद सुवेदीले स्व. पोख्रेलको जीवन, शिक्षायात्रा, संस्कृतिको प्रवर्धन र समाजसेवामाथि स्मृतिपरक विचार प्रस्तुत गरे ।

लेखक दुर्गाप्रसाद पोख्रेलले कृतिको लेखकीय मन्तव्य प्रस्तुत गर्दै पुस्तक लेख्नुको पृष्ठभूमि र औचित्यबारे प्रकाश पारे । उनले पुस्तकको एक अंश वाचनसमेत गरे।

कार्यक्रम चितवनको पारसनगर र इन्द्रपुरीको संगममा अवस्थित सिंहवाहिनी दुर्गा मन्दिर परिसर (भरद्वाज ऋषिको आश्रम) मा भएको थियो। सो स्थलमा गोत्र ऋषिको मूर्तिको पूजन परम्परा स्व. बालमुकुन्द पोख्रेलले शुरू गरेका थिए, त्यसैले उनको आत्मीय सम्बन्ध रहेको स्थानमै पुस्तक लोकार्पण गरिएको लेखकले बताए ।

समारोहको शुभारम्भमा कवि मनोज भण्डारीले स्वस्तिवाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता सिंहवाहिनी दुर्गा मन्दिरकी अध्यक्ष रेखा पोख्रेलले गरेकी थिइन् भने लेखककी आमा विष्णुमाया पोख्रेलले अन्त्यमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू