विपिनको अन्तिम बिदाइ, इजरायली राजदूतसहितको टोली महाकाली किनारमा
विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि



कञ्चनपुर–इजरायलमा हमासद्वारा अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको सोमबार महाकाली नदी किनारमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको छ। विपिनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
उनको पार्थिव शरीर इजरायलबाट फ्लाई दुबईको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई धनगढी हुँदै गृहजिल्ला कञ्चनपुर लगिएको थियो।
अन्त्येष्टिमा विपिनका ठूलाबुबा रामदत्त जोशी, अम्बादत्त जोशी र बुबा महानन्द जोशीले संयुक्त रूपमा दागबत्ती दिएका थिए । स्थानीयवासी, राजनीतिक प्रतिनिधि र सुरक्षाकर्मीको उपस्थितिमा विपिनलाई श्रद्धाञ्जलीसहित अन्तिम विदाइ दिइएको थियो।
भीमदत्त नगरपालिकास्थित निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
हमासले विपिनको शव इजरायललाई बुझाएपछि त्यहाँबाट नेपाल ल्याइएको हो। विपिनलाई हमासले सन् २०२३ मा इजरायलको किबुत्ज आलुमिम क्षेत्रबाट अपहरण गरेको थियो। लामो समयसम्म बेपत्ता रहेका उनी अन्ततः मृत अवस्थामा भेटिएका थिए।
इजरायलले पठाएको ‘द नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ।