बिहीबार, १६ अक्टोबर, २०२५
04:57 | ०९:४२

लोसपा नेता जितेन्द्र सोनल बने मधेश प्रदेशका मुख्यमन्त्री

नेपाली लिङ्क अक्टोबर १५, २०२५

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले प्रेस विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी सहित पाँच राजनीतिक दलका ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा प्रदेश सभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) लाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको जानकारी गराएका छन्।

आजै जनमतका १३ प्रदेश सांसदसमेतको आफ्नो समर्थन रहेको भन्दै काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए।

यादवलाई एमाले २३, कांग्रेस २२ र जनमत १३ गरी ५८ जना सदस्यको समर्थन रहेको दाबी गरिएको थियो। तर जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले सोनललाई मुख्यमन्त्री पदमा दिएको समर्थन आधिकारिक रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए।

यद्यपि जनमतले त्यसलाई खण्डन गरेपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई नै समर्थन दिएको हो। मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेश प्रमुख कार्यालयमा दुवै पक्ष पुगेपछि तनावसमेत भएको थियो।

कित्ता फेरेर जनमतले सोनललाई समर्थन गरेपछि काङ्ग्रेस र एमाले जनमत फोडेरै भए पनि आफूहरूको नेतृत्वमा सरकार बनाउने प्रयासमा थिए।

फलस्वरूप जनमतबाट आज निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ सह-नेतृत्वको जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन्।

निर्वाचन कार्यालयमा सनाखत गर्न निवर्तमान मुख्यमन्त्री सिंह पुगेपछि उनलाई रोक्न जनमतका नेता कार्यकर्ताले प्रयास गरेका थिए। त्यस क्रममा सामान्य झडप समेत भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू