जलविद्युत् आयोजना सुरक्षाका लागि सरकार गुहार्दै इप्पान



काठमाडौं । जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सरकारलाई गुहारेको छ।
आइतबार गृहमन्त्री र ऊर्जामन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनामा सरकारको नीति र कानून विपरित १० प्रतिशत नि:शुल्क सेयर माग्ने तथा ती आयोजनाहरूमा अवरोध गर्ने कार्यहरु बढेकोले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन्।
सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनामा भोटेकोशी गाउँपालिका जेन्जी ग्रुपको नाममा १० प्रतिशत नि:शुल्क सेयर लगायतका माग राखेर विगत १७ दिनदेखि विद्युत गृह बन्द छ भने यही कारण दैनिक करिब ९८ लाखसहित हालम्म १६ करोडभन्दा बढी गुमाउनु परेको पत्रमा उल्लेख गरिएको छ।
विद्युत गृह बन्द गरेपछि पनि दैनिक रुपमा गर्नुपर्ने मर्मत सम्भार र अनुगमनको लागि समेत जान नदिएको घटनाप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ।
यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासीको नाममा १० जलविद्युत आयोजनासँग नि:शुल्क सेयर मागेर सम्बन्धित आयोजनाहरूमा पत्र पठाइएको तथा अन्य अन्य क्षेत्रहरुमा समेत विभिन्न माग राखेर आयोजनाहरूमा अवरुद्ध गर्ने क्रम बढेको छ भन्दै ती आयोजनाहरूमा शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ।
आयोजनामा हुने अवरोधले आयोजनाको लागत र समय बढ्नुका साथै निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित पनि बनाउने उल्लेख गरिएको छ।
पत्रमा ऊर्जा आयोजनाहरूमाथि विभिन्न समूहबाट आक्रमण, तोडफोड, आगजानी लगायत कार्य बढ्दै गएको भन्दै यसको कारणले निजी क्षेत्रको लगानी असुरक्षित बनेकोले दीर्घकालीन रुपमा स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई ऊर्जामा गरेको लगानी सुरक्षितको ग्यारेन्टी दिनका लागि छुट्टै रुपमा ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि माग गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



