प्रधानमन्त्री ओलीलाई मोदीको भारत भ्रमण निम्तो दिएर फर्किए विदेश सचिव



काठमाडौँ, भदौ २ गते । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आएका उनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।
भ्रमणकै दौरानमा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरे ।
भेटवार्तामा सचिव मिस्रीले भारत सरकारको नेतृत्वतर्फबाट शुभकामना व्यक्त गर्दै दुई देशबीचका पारस्परिक लाभका विविध सहकार्यका पक्षमा भएको प्रगतिबारे जानकारी गराएका थिए । साथै प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका छन् ।
दुवै देशका विदेश सचिवबीच विस्तृत छलफल भएको थियो । छलफलमा हालसम्म भएका द्विपक्षीय पहलहरुको प्रगतिबारे समीक्षा गर्दै प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका सम्भावित एजेन्डा र थप सहकार्यका अवसरहरुमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भेटी नेपाली सेनालाई ‘लाइट स्ट्राइक भेहिकल’, ‘क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट’ र सैन्य प्रयोजनका जनावरलगायत रक्षा सामाग्री हस्तान्तरण गरेका थिए ।
भ्रमणका क्रममा दुवै पक्षले भौतिक तथा ‘डिजिटल कनेक्टिभिटी’, रक्षा र सुरक्षा, ऊर्जालगायतका क्षेत्रमा हालैका वर्षमा भएको ठोस प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।
भ्रमणले दुई देशबीचको उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५