बुधबार, ४ नोभेम्बर, २०२६
07:38 | १३:२३

ग्लोबल पर्वत समाजको आयोजनामा मोदीमा निःशुल्क स्वास्थ्य शिविर, चार सय बढीले लिए सेवा

नेपाली लिङ्क नोभेम्बर ४, २०२६

पर्वत — ग्लोबल पर्वत समाजको आयोजना, मोदी गाउँपालिका पर्वतको व्यवस्थापन तथा श्री देउपुर नमुना आवासीय माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब चार सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।

पर्वतको मोदी गाउँपालिकास्थित देउपुर नमुना आवासीय माध्यमिक विद्यालयमा शनिबार आयोजित शिविरमा विभिन्न रोगबाट प्रभावित स्थानीय नागरिकले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका हुन्।

शिविरमा नाक, कान, घाँटी, नसा, मधुमेह, उच्च रक्तचाप, मुटु, फोक्सो, कलेजो तथा स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। ओम मेगाश्री फार्मास्युटिकल्स, मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर तथा निको पोलिक्लिनिक, दुबई यूएईको प्राविधिक सहयोग रहेको शिविरमा सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकहरू सहभागी थिए।

शिविरमा अत्याधुनिक उपकरण प्रयोग गरी ईसीजी, यूएसजी, सुगर, प्रेसरलगायतका स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष स्वास्थ्य परीक्षण र आवश्यक परामर्श पाउने भएपछि स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

अत्यधिक वर्षाका बाबजुद बिहान ११ बजेदेखि सुरु भएको शिविर साँझ ६ बजेसम्म सञ्चालन भएको थियो। मौसम प्रतिकूल रहे पनि स्वास्थ्य सेवा लिन आउने स्थानीयको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको आयोजकको भनाइ छ।

कार्यक्रमकी प्रमुख अतिथि मोदी गाउँपालिका अध्यक्ष हीरा देवी शर्माले स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता भएको बताउँदै गाउँमै विशेषज्ञ चिकित्सक र आधुनिक उपकरणसहितको सेवा उपलब्ध गराउनु महत्वपूर्ण उपलब्धि भएको बताइन्।

उनले यस्ता सेवामूलक कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउने अवसर प्रदान गर्ने उल्लेख गर्दै ग्लोबल पर्वत समाज, सहयोगी संस्था, विद्यालय तथा व्यवस्थापनमा खटिने सबैलाई धन्यवाद दिइन्।

आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

मोदी गाउँपालिका स्वास्थ्य शाखा प्रमुखले स्वास्थ्य परीक्षण र रोगको समयमै पहिचानले उपचारलाई सहज बनाउने उल्लेख गर्दै शिविरबाट स्थानीय नागरिकले विशेषज्ञ सेवा प्राप्त गरेको बताए। उनले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रतिको सचेतना बढाउनुका साथै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने धारणा राखे।

त्यसैगरी, श्री देउपुर नमुना आवासीय माध्यमिक विद्यालयका सञ्चालक बलराम शर्माले विद्यालय परिसरमा यति ठूलो र सेवामूलक कार्यक्रम सञ्चालन गर्न पाउनु खुसीको विषय भएको बताए।

उनले कार्यक्रम सफल बनाउन विद्यालय परिवारले आवश्यक व्यवस्थापन र सहकार्य गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका गतिविधिमा विद्यालयको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।


ग्लोबल पर्वत समाजका अध्यक्ष दधी आचार्य हाल बेलायतमा रहेकाले कार्यक्रमको अध्यक्षता समाजका उपाध्यक्ष एवं मोदी गाउँपालिका संयोजक रुद्रमणि लम्सालले गरेका थिए। कार्यक्रम सञ्चालन समाजका उपाध्यक्ष दिनेशराज रेग्मीले गरेका थिए।

यसैबीच, संस्थाका संस्थापक अध्यक्ष पुरन गिरीले ग्लोबल पर्वत समाज स्थापना हुनुको मुख्य उद्देश्य प्रवासमा रहेका पर्वतेलीलाई जन्मभूमिसँग जोड्दै सामाजिक उत्तरदायित्वका काममा सक्रिय बनाउनु रहेको बताएका छन्।

उनले देशबाहिर रहेर पनि आफ्नो गाउँठाउँका नागरिकको सेवामा योगदान पुर्‍याउन पाउनु संस्थाका लागि गौरवको विषय भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन खटिने सबैप्रति आभार व्यक्त गरे।

समाजका पूर्वअध्यक्ष झलक केसीले संस्थाले सामाजिक सेवाका क्षेत्रमा अघि सारेका कार्यक्रमले प्रवास र जन्मभूमिबीचको सम्बन्धलाई थप बलियो बनाएको बताए। उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गरिएको यो प्रयासले ग्रामीण नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको उल्लेख गर्दै आयोजक, स्थानीय सरकार, विद्यालय तथा सहयोगी संस्थालाई धन्यवाद दिए।

समाजका निवर्तमान अध्यक्ष सस्थाका प्रमुख संरक्षक गुणराज शर्मा (गुराँस पौडेल) ले संस्थाले नेतृत्व परिवर्तन भए पनि सामाजिक सेवाको अभियानलाई निरन्तरता दिँदै आएको बताए। उनले विदेशमा रहेका नेपालीले आफ्नो गाउँ र समाजप्रतिको दायित्व बिर्सन नहुने उल्लेख गर्दै नेपालमा रहेका संस्थाका साथीहरूले देखाएको सक्रियता र समर्पणको प्रशंसा गरे।


ॐ मेघा श्री फर्मास्युटिकल्सका सन्चालक एवं सस्थाका संरक्षक अर्जुन कुमार श्रेष्ठले आफू लामो समय देखि स्वास्थ क्षेत्रमै काम गरिरहेकोले पर्बतेले जनता लाई यसरी हरेक जसो वर्ष ग्लोबल पर्बत समाजको आयोजनमा हुने कार्यक्रम मार्फत सहयोग एवं सेवा गर्न पाउँदा खुसी लागेको बताए ।

त्यस्तै समाजका वर्तमान अध्यक्ष दधी आचार्यले आफू भौगोलिक रूपमा विदेशमा रहे पनि संस्थाका गतिविधि र जन्मभूमिमा सञ्चालन हुने सेवामूलक कार्यक्रमप्रति निरन्तर चासो र साथ रहेको बताए।

उनले यति ठूलो स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने संस्थाका सम्पूर्ण साथीहरू, मोदी गाउँपालिका, देउपुर नमुना आवासीय माध्यमिक विद्यालय तथा प्राविधिक सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

आगामी दिनमा पनि समाजले यस्तै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो।

समाजका महासचिव कमल लामिछानेले संस्थाको उद्देश्य केवल प्रवासमा रहेका पर्वतेलीलाई एकताबद्ध गर्नु मात्र नभई जन्मभूमिमा आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका काममा योगदान पुर्‍याउनु पनि रहेको बताए।

उनले संस्थाका साथीहरूले नेपालमै उपस्थित भएर कार्यक्रमलाई सफल बनाएकोमा खुसी व्यक्त गर्दै सबै सहयोगी हातहरूप्रति आभार प्रकट गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू