मंगलबार, ३ नोभेम्बर, २०२६
03:12 | ०८:५७

डब्लुटिएममा भाग लिन लन्डन आइपुगे पर्यटनमन्त्री

नेपाली लिङ्क नोभेम्बर ३, २०२६

लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) लन्डन आइपुगेका छन् ।

मन्त्री पौडेललाई सोमबार बिहान बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त, दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह, पर्यटन बोर्ड र दूतावास परिवार लगायतले पनि मन्त्री पौडेललाई स्वागत गरे ।

मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन आएका हुन् ।

वर्ल्ड ट्राभल मार्केट ३ देखि ५ नोभेम्बर २०२६ सम्म एक्सेल लन्डनमा हुंदैछ।

कार्यवाहक राजदूत दुवाडीले नेपाल पर्यटन बोर्डको संयोजकत्वमा ३२ कम्पनीले मेलामा भाग लिएका जनाए । होटल सोल्टी भने आफ्नै तरिकाले मेलामा सहभागी छ ।
मेलामा हाल बेलायत भ्रमणमा रहेका रास्वपा सांसद मनिष झा समेत सहभागी हुने कार्यक्रम छ ।

विश्व मञ्चमा नेपालको सकारात्मक सन्देश र पर्यटन प्रवर्धनका लागि डब्लुटिएम सहभागिता उपयोगी हुने विश्वास दुवाडीको छ ।

मेलाका क्रममा मन्त्री पौडेलले विभिन्न देशका पर्यटनमन्त्रीसंग भेटघाट गर्ने जनाइएको छ । मेलामा नेपालको सहभागिताले दिगो पर्यटन, बजारीकरण र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सन् १९८० देखि शुरु वर्ल्ड ट्राभल मार्ट लन्डन आइटिबी बर्लिनपछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला मानिन्छ । यो दशकौंदेखि ग्लोवल ट्राभल एण्ड टुरिजमको प्रभावशाली इभेन्ट समेत बनेको छ ।

गत वर्ष वर्ल्ड ट्राभल मार्केटमा १८० देशका झण्डै ४५ हजार आगन्तुक र करिब ५ हजार प्रदर्शक भेला भएका थिए ।

यसैबीच, मन्त्री पौडेलको सम्मानमा दूतावासले बुधबार एक रिसेप्सन समेत राखेको छ जसमा नेपाली प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ । पौडेल आउंदो ६ नोभेम्बरमा नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू