बुधबार, २८ अक्टोबर, २०२६
23:05 | ०४:५०

लन्डनमा ‘नर्थहोल्ट १० के रन’ पाँचौं संस्करणको तयारी पूरा

नेपाली लिङ्क अक्टोबर २८, २०२६

लन्डन । नेपाल रन यूकेले आयोजना गर्ने पाँचौं संस्करणको ‘एइएसएन नर्थहोल्ट १० के रन’ को तयारी पूरा भएको छ ।

बुधबार साँझ लन्डनमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले आगामी १ नोभेम्बर आइतबार बिहान लन्डन नर्थहोल्टस्थित नर्थला फिल्ड्स, नर्थहोल्ट पार्कमा हुने दौडमा भर्चुअलसहित ६०० जनाले सहभागिताका लागि नाम दर्ता गरेको जनाए । अब दर्ता बन्द भइसकेको छ।

यस संस्करणमा बालबालिकाका लागि दुई किलोमिटर दौड पनि समावेश गरिएको छ । प्रतियोगिताले बालबालिका तथा युवालाई सानैदेखि खेलकुदतर्फ आकर्षित गर्ने आयोजकको विश्वास छ ।

पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी, स्वास्थ्य सुरक्षा, व्यवस्थापन तथा समुदायमा पार्ने प्रभावबारे जानकारी गराए ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेपाल रन यूके सचिव डा. जगन कार्कीले नेपाल रन यूके ‘यूके एथलेटिक्स’ मा दर्ता भएको र यो विदेशमा रहेका नेपालीहरूले सञ्चालन गरेको एकमात्र विशिष्ट दौड क्लबका रूपमा स्थापित भएको बताए। यूके एथलेटिक्स संयुक्त अधिराज्यमा एथलेटिक्स खेलको नियामक निकाय हो ।

डा. कार्कीले संस्थाले नेपाली समुदायलाई एकताबद्ध गर्दै शारीरिक व्यायाम र स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि गर्नुका साथै परोपकारी गतिविधिसमेत सञ्चालन गर्दै आएको उल्लेख गरे ।

नेपाल रन यूके संस्थापक सन्तोष राईले प्रतियोगिता केवल दौडमा सीमित नभई समुदायलाई सक्रिय र स्वस्थ बनाउन प्रोत्साहित गर्ने अभियान भएको बताए । इभेन्टमा सहभागीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै चिकित्सक तथा नर्सको व्यवस्था र आवश्यक स्वास्थ्य सेवाको तयारी गरिएको उनले जानकारी दिए । दौडपछि स्पोर्टस मसाजका लागि फिजियोथेरापी सेवा तथा नेपाली खानाका स्टलसमेत रहने राईले बताए ।

संस्थापक राईले विजेता धावकलाई नेपाल रन यूकेको सातै प्रदेशमा हुने आगामी ‘७७७ म्याराथन’, अन्नपूर्ण वा एभरेस्ट म्याराथनमा समेत सहभागी गराउन छलफल भइरहेको बताए ।

उनले बिहान १०.१५ बजे दौड शुरु हुने जनाउंदै दौड नियम, कार पार्क, इन्सुरेन्स लगायत विषयमा अवगत गराएका थिए ।

स्वास्थ्य सचेतना, सामुदायिक एकता र नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नर्थहोल्ट १० के रनले बेलायतस्थित नेपाली समुदायमा दौड संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा उनको छ ।

कार्यक्रममा नेपालका चर्चित धावक एवं प्रशिक्षक ओलम्पियन हरि रोकायाले आफ्नो अनुभव सुनाउँदै युवालाई दौड र खेलकुदमा अघि बढाउनुपर्नेमा जोड दिए। जुम्लामा जन्मिएका ६६ वर्षीय रोकायाले २७ वर्षसम्म दौडमा सक्रिय रहेपछि पहिलोपटक लन्डन आउने अवसर पाएकोमा नेपाल रन यूकेप्रति आभार व्यक्त गरे। सन् २०१८ मा स्थापना भएको नेपाल रन यूकेको अभियानले आफूजस्ता खेलाडीलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने अवसर प्रदान गरेको समेत उनले बताए ।

रोकाया एभरेष्ट म्याराथनमा ह्याट्रिक गरी विश्व रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल धावक हुन् ।

हाल जुम्लामा २२ जना युवालाई प्रशिक्षण दिइरहेको उल्लेख गर्दै उनले खेलकुद विकास र हाइ अल्टिच्यूड प्रशिक्षणका लागि आवश्यक पूर्वाधार निर्माणमा नेपाल रन यूकेको सहयोगप्रति कृतज्ञता समेत व्यक्त गरे ।

नेपाल रन यूकेका संस्थापक सदस्य पाण्डव महतोले यसपटक अघिल्ला संस्करणको तुलनामा बढी धावकले नाम दर्ता गराएको र यो पृथक हुने बताए। प्रतियोगिता सुरक्षित र व्यवस्थित बनाउन प्राथमिक उपचार तथा स्वास्थ्य र सुरक्षा मापदण्डलाई ध्यान दिइएको उनले जानकारी दिए। सन् २०१८ मा सुरु भएको दौड र स्वास्थ्य जागरण अवधारणा अहिले विस्तार हुँदै समुदायमा प्रभावकारी अभियानका रूपमा स्थापित भएको उनको भनाइ थियो ।

नेपाल रन यूके कोषाध्यक्ष रविन्द्र अधिकारीले प्रतियोगितालाई विभिन्न संस्था तथा व्यवसायीले सहयोग गरेका जनाउंदै प्रायोजकप्रति आभार व्यक्त गरे । प्रायोजकमा एइएसएन (मुख्य प्रायोजक), रियल ड्रिम्स, एनबीसी यूके, एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद, किरात राई यायोक्खा लन्डन, नेपाली साइकलिङ क्लब, बुद्ध मोर्गेज, एसएनपी अकाउन्टिङ, तमु समाज यूके संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सरोज फिजियो (अफिसियल फिजियो थेरापी पार्टनर), एकुरिष्ट अकाउन्टिङ, मेक्सवर्थ अकाउन्टिङ लगायत छन्।

पत्रकार सम्मेलनमा एइएसएन रिक्रुटमेन्ट एजेन्सीकी दीपिका निरौलाले आफ्नो संस्थाले गर्दै आएका गतिविधिबारे जानकारी दिँदै नेपाल रन यूकेको उद्देश्यमा साथ दिन पाउँदा गर्व लागेको बताइन् ।

सो अवसरमा एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष सुमन प्रधानसहित नेपाल रन यूके पदाधिकारी सहभागी थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू