लन्डनमा ‘एइएसएन नर्थहोल्ट १० के रन’ मा व्यापक सहभागिता


लन्डन । आइतबार नेपाल रनद्वारा आयोजित पाँचौं ‘एइएसएन नर्थहोल्ट १० के रन’ मा ३०० भन्दा बढी धावक प्रत्यक्ष रुपमा सहभागी भएका छन् । अन्य झन्डै ३०० जना भर्चुएल रुपमा सहभागी भए।
कार्यक्रममा नेपालका चर्चित धावक एवं प्रशिक्षक ओलम्पियन हरि रोकायाले बेलायतमा आयोजित दौडमा सयौं नेपाली तथा अन्य मुलुकका नागरिक सहभागी देख्दा आफूलाई निकै खुसी लागेको बताए।
उनले खास गरी युवालाई दौड र खेलकुदमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले आफूलाई बेलायत बोलाएर कार्यक्रममा सहभागी हुने मौका दिएकोमा आयोजक नेपाल रनलाई धन्यवाद दिए।
जुम्लामा जन्मिएका ६६ वर्षीय रोकाया २७ वर्षसम्म दौडमा सक्रिय रहे। उनी एभरेष्ट म्याराथनमा ह्याट्रिक गरी विश्व रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल धावक हुन् ।
हाल जुम्लामा २२ जना युवालाई प्रशिक्षण दिइरहेका रोकायाले खेलकुद विकास र हाइ अल्टिच्यूड प्रशिक्षणका लागि आवश्यक पूर्वाधार निर्माणमा नेपाल रन यूकेको सहयोगप्रति कृतज्ञता समेत व्यक्त गरे ।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले यस्ता दौडले नेपाली समुदायलाई एकताबद्ध गर्दै शारीरिक व्यायाम र स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि गरेको बताए।
उनले दौडका साथै परोपकारी गतिविधिसमेत सञ्चालन गरेकोमा नेपाल रन परिवारलाई धन्यवाद पनि दिए ।
बालबालिका तथा युवालाई सानै उमेरदेखि खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले दौडको सुरुमा बालबालिकाका लागि दुई किलोमिटर दौड पनि समावेश गरिएको थियो ।
इभेन्टमा सहभागीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै चिकित्सक तथा नर्सको व्यवस्था पनि गरिएको थियो। दौडपछि स्पोर्टस मसाजका लागि फिजियोथेरापी सेवा तथा नेपाली खानाका स्टलसमेत राखिएका थिए ।
नेपाल रन यूके अध्यक्ष आत्माराम दाहालले रनमा सहभागी, प्रायोजक लगायत सबैलाई धन्यवाद दिए। त्यस्तै नेपाल रन यूके संस्थापक सन्तोष राईले विजेता धावकलाई नेपाल रन यूकेको सातै प्रदेशमा हुने आगामी ‘७७७ म्याराथन’, अन्नपूर्ण वा एभरेस्ट म्याराथनमा समेत सहभागी गराउन छलफल भइरहेको बताए ।
नेपाल रन यूकेका सचिव डा. जगन कार्कीले नेपाल रन यूके ‘यूके एथलेटिक्स’ मा दर्ता भएको र यो विदेशमा रहेका नेपालीहरूले सञ्चालन गरेको एकमात्र विशिष्ट दौड क्लबका रूपमा स्थापित भएको बताए।
उनले प्रतियोगिता केवल दौडमा सीमित नभई समुदायलाई सक्रिय र स्वस्थ बनाउन प्रोत्साहित गर्ने अभियान भएको पनि बताए ।
यो वर्ष नेपाल रनको प्रायोजकमा एइएसएन (मुख्य प्रायोजक), रियल ड्रिम्स, एनबीसी यूके, एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद, किरात राई यायोक्खा लन्डन, नेपाली साइकलिङ क्लब, बुद्ध मोर्गेज, एसएनपी अकाउन्टिङ, तमु समाज यूके संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सरोज फिजियो (अफिसियल फिजियोथेरापी पार्टनर), एकुरिष्ट अकाउन्टिङ, मेक्सवर्थ अकाउन्टिङ लगायत थिए ।

दौडका विजेताहरु:
संयुक्त विजेता (पुरुष)
१. रोशन थापा मगर ३२.१२ मि
२. सुदन पुन ३६.५६ मि
३. विलियम वायट ३७ मि
महिलातर्फ
१. अन्जु सिग्देल ( तेजमाया ) ४२.४८ मि
२. नयाने फेररिया ४४.३२ मि
३. भेनेसा पल ५१.०२ मि
भेट्रान पुरुष ( ४० – ४९ उमेर समूह )
१. जीवन राई ३७. १४ मि
२. बलदेव कुँवर ३८.५१ मि
३. रुद्र लिम्बु ३९.३२ मि
महिला :
१. एमा लिन ५४. २८ मि
२. आना मोलिन ५४.४७
३. प्रतिष्ठा पराजुली ५५.३७
भेट्रान ५० देखि ५९ उमेर समूह
१. पिटर फेल्विट ३७.२१
२. होम खत्री ३७.३०
महिला
१. पउला म्यारी ५४.३८
२. रचना श्रेष्ठ ५६.०१
सुपर भेट्रान ६०+
पुरुष
१. स्टेफेन प्लामर ३८.४१
महिला
२. सुनन्दा साकारबेल – ५४.४१
नेपाल रन क्लब विजेता
१. लक्ष्मन गुरुङ – ३७.४३
१. आर्या नेपाल ५३.३५

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



