शुक्रबार, १६ अक्टोबर, २०२६
22:08 | ०२:५३

नर्थविक पार्क अस्पतालमा कार्यरत नेपालीद्वारा बाढीपीडितका लागि चार लाख सहयोग

नेपाली लिङ्क अक्टोबर १६, २०२६

लन्डन। लन्डन ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा कार्यरत नेपालीहरूको समूह एनएनपी फ्यामिलीले नेपालका विपद् प्रभावितहरूको राहतका लागि करिब चार लाख रुपैयाँ बराबरको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ।

एनएनपी फ्यामिलीले सञ्चालन गरेको सहयोग अभियानबाट १ हजार ४६१ पाउन्ड संकलन भएको थियो। त्यसमा समूहका तर्फबाट थप ५०० पाउन्ड सहयोग थपिएपछि कुल १ हजार ९६१ पाउन्ड संकलन भएको जनाइएको छ।

अभियानमा अस्पतालमा कार्यरत नेपाली कर्मचारी, शुभेच्छुक तथा सहयोगीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। संकलित रकम नेपालमा बाढी तथा विपद्बाट प्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको एनएनपी फ्यामिलीले जनाएको छ।

एनएनपी फ्यामिलीले आर्थिक सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै विदेशमा रहेर पनि मातृभूमिको दुःखमा साथ दिनु नेपाली समुदायको एकता, करुणा र मानवीय भावनाको प्रेरणादायी उदाहरण भएको उल्लेख गरेको छ। साथै आगामी दिनमा पनि यस्तै सामाजिक तथा मानवीय अभियानमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। ‘एकता नै हाम्रो शक्ति हो, मानवता नै हाम्रो पहिचान हो’-उक्त समूहको मान्यता छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू