ब्रिटिस गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता


काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कूटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै पूर्वप्रधानसेनापतिसमेत रहेका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने अठोट व्यक्त गरे ।
जबराले आफूलाई सेनाको पूर्व नेतृत्वकर्ताका रूपमा मात्र सीमित नराखी नेपाल सरकार र नेपाली जनताको प्रतिनिधि भएको बताए । सन् १८१६ देखि कायम नेपाल–बेलायत कूटनीतिक सम्बन्धलाई २१औँ शताब्दीको आवश्यकताअनुसार नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने गरी अघि बढाउने उनले बताए ।
जबराले आफ्नो कार्यकालका लागि पाँच मुख्य प्राथमिकता तय गरेका छन् ।
पहिलो, आर्थिक कूटनीतिअन्तर्गत बेलायती लगानी, प्रविधि र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्ने, दोस्रो, हरित अर्थतन्त्र, हिमाली जैविक विविधता र वातावरणीय संरक्षणका क्षेत्रमा साझेदारी गर्ने, तेस्रो, बेलायतस्थित नेपाली समुदायलाई नेपालको विकासका लागि ‘सेतु’का रूपमा परिचालन गर्ने, चौथो, संसदीय तथा सार्वजनिक कूटनीतिलाई व्यापक बनाउने, र पाँचौँ, ब्रिटिस गोर्खा सैनिकसँग जोडिएका विषयहरूलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्राथमिकता छन् ।
आफ्नो लामो सैनिक सेवाकाल र अनुभवले बेलायतसँगको सम्बन्धलाई थप उचाईमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले भने, “संस्थागत निरन्तरता र राष्ट्रिय हितको प्रवर्धन नै मेरो मुख्य ध्येय हुनेछ ।”
बेलायतसँगको गोर्खा सम्बन्धलाई सम्मान गर्दै उनले आफ्नो सैन्य पृष्ठभूमि र रोयल मिलिटरी एकेडेमीमा तालिम लिएको अनुभवले दुई देशबीचको सैन्य कूटनीतिमा सहजता ल्याउने संकेत गरे ।
–न्युज एजेन्सी नेपाल



