धादिङ समाज यूकेको प्रवक्तामा मनिष खत्री मनोनित


लन्डन। धादिङको बुढाथुममा जन्मिएर हाल स्कटल्यान्डको एडिनबरामा बसोबास गर्दै आएका युवा समाजसेवी तथा पूर्व विद्यार्थी नेता मनिष खत्री धादिङ समाज यूकेको प्रवक्तामा मनोनित भएका छन्।
खत्रीले नयाँ जिम्मेवारीलाई विगतमा विद्यार्थी संगठन, गैर आवासीय नेपाली संघ युके तथा विभिन्न सामाजिक संस्थामा हासिल गरेको अनुभव धादिङ समाज यूकेको संस्थागत विकास, प्रभावकारी सूचना प्रवाह, नयाँ पुस्ताको सहभागिता र धादिङवासीबीचको सम्बन्ध विस्तारमा उपयोग गर्ने बताएका छन् ।
उनले धादिङ तथा नेपालमा विपद् वा आवश्यकताका समयमा सहयोग जुटाउन बेलायतस्थित धादिङवासीबीच थप प्रभावकारी सहकार्यको वातावरण बनाउन पनि आफूले भूमिका खेल्ने बताए।
खत्रीको मनोनयनप्रति अन्तर्राष्ट्रिय धादिङ समाजलगायत विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
बेलायतमा नेपाली समुदाय, विद्यार्थी तथा आप्रवासीको अधिकार र सामाजिक सेवामा सक्रिय खत्री गैर आवासीय नेपाली संघ युकेका पूर्व उपाध्यक्ष, एडिनबर्ग नेपिएर स्टुडेन्ट्स एसोसिएसनका पूर्व अध्यक्ष तथा एनयुएस स्कटल्याण्डका पूर्व अन्तर्राष्ट्रिय विद्यार्थी अधिकारी हुन् ।
हाल उनी हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चरका अध्यक्ष तथा नेपाल स्कटल्यान्ड एसोसिएसनका कार्यसमिति सदस्य छन् ।
पेशाले सफ्टवेयर डेभलपर रहेका खत्रीको सामाजिक यात्रा सन् २०१५ को नेपाल भूकम्पपछि थप सक्रिय बनेको हो। भूकम्पपछि नेपाल पुगेर करिब दुई महिना राहत तथा पुनर्निर्माणमा खटिएका उनले नेपाल स्कटल्यान्ड एसोसिएसनमार्फत सञ्चालन भएको अभियानमा अन्य पदाधिकारी र स्वयंसेवकसँग मिलेर £65,000 भन्दा बढी राहत रकम संकलन तथा परिचालन गर्न भूमिका निर्वाह गरेका थिए ।
एनआरएनए स्कटल्यान्डको सचिवका रूपमा रहँदा उनले डा. राम अधिकारीलगायतसँगको सहकार्यमा संस्थाको विधान निर्माण तथा स्कटल्यान्डमा च्यारिटीका रूपमा दर्ता गर्ने प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गरे ।
पछि एनआरएनए युकेको उपाध्यक्षका रूपमा स्कटल्यान्डस्थित नेपाली समुदायको प्रतिनिधित्व र विभिन्न संस्थाबीच समन्वयमा सक्रिय रहे ।
विद्यार्थी नेतृत्वका क्रममा खत्रीले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अध्ययनपश्चात् दुई वर्षको कार्यभिसा पुनःस्थापनाको माग गर्दै सुरु गरिएको ‘Post Study Work Visa Now’ अभियानका तीन सहसंस्थापकमध्ये एक भएर काम गरेका थिए।
अभियानले विश्वविद्यालयदेखि राष्ट्रिय तहसम्म विद्यार्थीको मुद्दा उठाएको थियो र यसबारे The independent लगायत बेलायती सञ्चारमाध्यममा समेत समाचार प्रकाशित भएका थिए।
आप्रवासी अधिकारका क्षेत्रमा पनि सक्रिय खत्रीले निर्वासनको जोखिममा परेको एक परिवारको पक्षमा सञ्चालित अभियानमा नेतृत्व गर्दै एक लाख चार हजारभन्दा बढी हस्ताक्षर तथा £6, 000 भन्दा बढी सहयोग जुटाउन भूमिका निर्वाह गर्नुभएको थियो।
हाल हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चरको अध्यक्षका रूपमा उनले आर्थिक संकटमा परेको सामुदायिक तथा सांस्कृतिक केन्द्रको संरक्षण र दीर्घकालीन सञ्चालनमा नेतृत्व गर्दै आएका छन् ।
साथै नेपाली भाषा कक्षा सञ्चालन तथा शिक्षण, सांस्कृतिक कार्यक्रम, विपद् राहत र नयाँ पुस्तालाई समुदायसँग जोड्ने गतिविधिमा पनि उनी सक्रिय छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



