बिहीबार, ८ अक्टोबर, २०२६
21:58 | ०२:४३

‘डेडलक’ तोड्दै जनसम्पर्क समिति बेलायतको अधिवेशन गराउने शेर सुनारको प्रशंसा

नेपाली लिङ्क अक्टोबर ८, २०२६

शेरबहादुर सुनार

लन्डन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका कारण काठमाडौंमा यतिबेला राजनीतिक सरगर्मी बढेको छ। देश–विदेशबाट हजारौँ प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्। नयाँ कार्यसमिति चयनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ।

संशोधित विधानअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ।

महाधिवेशनको यही सन्दर्भमा बेलायत फर्केर हेरौँ।

नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न गराउन पार्टी सभापति गगनकुमार थापाले नेता तथा समाजसेवी शेरबहादुर सुनारलाई विशेष जिम्मेवारीसहित पत्र पठाए।

पत्रमा भनिएको थियो, ‘नेपाली जनसम्पर्क समिति, बेलायतमा आबद्ध वर्तमान र पूर्व समितिका साथीहरूबीच आवश्यक संवाद र सबै पक्षसँग समन्वय गरी सबैको सहभागिता हुने गरी २०८३ असोज १० गतेभित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गराउने कार्यादेशसहित तपाईंलाई नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) बमोजिम जनसम्पर्क समिति बेलायतको संयोजकको विशेष जिम्मेवारी प्रदान गरिएको छ।’

समय निकै सीमित थियो। त्यसमाथि लामो समयदेखि आन्तरिक विवाद, ध्रुवीकरण र गतिरोधबाट गुज्रिरहेको जनसम्पर्क समिति बेलायतको अवस्था जटिल थियो। संगठनका गतिविधिसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थामा सुनारका लागि अधिवेशन सम्पन्न गराउनु ठूलो चुनौती थियो।

तर, उनले त्यसलाई चुनौतीभन्दा बढी अवसरका रूपमा लिए। पार्टी सभापति थापासहित नेतृत्वले विश्वास गरेर दिएको जिम्मेवारीबाट पछि हट्नु उचित नहुने उनको बुझाइ थियो। नेपाली कांग्रेसको राजनीतिमा वि.सं. २०३६ सालदेखि सक्रिय सुनार नेपाली जनसम्पर्क समिति बेलायतका संस्थापक सदस्यसमेत हुन्। उनले समितिमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्।

‘आँटेपछि अधिवेशन गर्न सकिन्छ’ भन्ने आत्मविश्वासका साथ सुनार तयारीमा जुटे।

सुरुवातमा सदस्यसचिव आर.के. त्रिपाठीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई समेटेर अधिवेशन तयारी समिति गठन गरियो। त्यसको अर्को दिन अग्रज तथा अनुभवी नेताहरू सम्मिलित सल्लाहकार समिति गठन गरियो। सीमित समयभित्र अधिवेशन सम्पन्न गर्न रातदिन नभनी बैठक तथा छलफलहरू सञ्चालन गरिए।

अल्डरसटमा अधिवेशनको स्थान र कार्यक्रम तय गरियो। उद्घाटन सत्र सम्पन्न गर्नुका साथै विधान संशोधन र राजनीतिक प्रतिवेदनसमेत पारित गरियो। उद्घाटन समारोहमा पूर्व सभापति शेरबहादुर देउवा पक्षसँग निकट मानिने युवराज गुरुङ समूहका उपस्थित नभए पनि आयोजकले पर्याप्त अतिथि तथा सहभागीको उपस्थिति सुनिश्चित गरेको थियो।

यसैबीच केन्द्रबाट अधिवेशनका लागि थप तीन दिनको समय उपलब्ध भएपछि सुनारले बेलायतमा रहेका विभिन्न पक्ष र नेताहरूसँग थप संवाद तथा सरसल्लाह अघि बढाए। परिणामस्वरूप सबै पक्षको सहभागितामा नेपाली जनसम्पर्क समिति बेलायतको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भयो, जसको नेतृत्व हितकाजी गुरुङले पाए।

लामो समयदेखि विभाजित अवस्थामा रहेको नेपाली जनसम्पर्क समिति बेलायतलाई नयाँ अधिवेशनले एकताबद्ध बनाएको विश्लेषण गरिएको छ।

नवीकरण गरिएका १,९५७ र नयाँ सदस्यता लिएका १६७ गरी कुल २,१२४ सदस्यका आधारमा बेलायतबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि १४ जना प्रतिनिधि चयन भएका छन्। ती प्रतिनिधिमार्फत पार्टीलाई लेबीबापत मात्रै ५२ लाख ५७ हजार ८८५ रुपैयाँ नेपाल पठाइएको जनाइएको छ।

नेपाली जनसम्पर्क समिति बेलायतबाट महाधिवेशन प्रतिनिधिका रूपमा चयन हुनेमा विश्व आदर्श पण्डित, कोपिला सुब्बा, महेशकुमार दाहाल, युवराज सिंह, रितेश राज पाण्डे, सुवास कार्की, खुशी लिम्बु, बिजनप्रसाद भट्ट, दयानिधि सापकोटा, विश्व घिमिरे, आर.के. त्रिपाठी (राजकुमार), नोर्बु शेर्पा, राजेन्द्रप्रसाद सुवेदी र हितकाजी गुरुङ छन्।

अधिवेशन सम्पन्न गराउन आफूले केन्द्रको निर्देशनलाई आत्मसात गर्दै तीव्र गतिमा काम गरेको सुनार बताउँछन्।

‘म आफैँ ब्रिटिश आर्मीमा काम गरेको भूतपूर्व गोर्खा भएकाले अनुशासन, कडा परिश्रम र रणनीतिक कार्यशैलीलाई प्राथमिकता दिएँ। यही शैली अपनाएर अधिवेशन सम्पन्न गर्न सफल भएँ’, सुनारले भने। उनले अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । यो अधिवेशन सम्पन्न गर्न धेरै जना जोडिएका उनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू