शनिबार, ३ अक्टोबर, २०२६
23:33 | ०४:१८

बाढी प्रभावितका लागि एनआरएनए खातामा हालसम्म ६ करोड ६५ लाख

नेपाली लिङ्क अक्टोबर ३, २०२६

लन्डन । भोटेकोशी बाढी प्रभावितका लागि विदेशका नेपालीबाट चन्दा दिने क्रम जारी छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले शनिबारसम्म ६ करोड ६५ लाख ८८ हजार ९६० रुपैयाँ संकलन भएको जनाएको छ ।

भोटेकोशी–रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड ३९ लाख ६६ हजार २२६ रुपैयाँ प्रतिवद्धता प्राप्त भएकामा हाल ६ करोड ६५ लाख ८८ हजार ९६० रुपैयाँ संकलन भएको हो ।

एनआरएनएले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्नेछ ।

यसैबीच, एनआरएनएले राहत तथा मानवीय सहयोग अभियानको ३८ औं दिन पूरा गरेको छ । संघले हेलिकप्टरमार्फत रसुवाको गोसाइँकुण्ड–१, थुमनका १३८ परिवारलाई राहत वितरण गरेको छ । नेपाल डेभलपमेन्ट एकेडेमी, Stichting Nepal Fonds र Liverpool Nepali Society को समेत आर्थिक सहयोगमा हेलिकप्टरमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याई वितरण गरिएको हो।

राहत वितरणका लागि एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) र एनआरएनए नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल प्रभावित स्थानमै पुगेका थिए ।

स्थानीय सरकारसँगको समन्वयमा प्रभावित परिवारको आवश्यकता पहिचान गरी राहत सामग्री वितरण गरिएको हो।

बाढी प्रभावित मनाङवासीलाई राहत वितरणको पहल

मनाङ जिल्लाको नासोँ गाउँपालिका वडा नं १, ताल गाउँमा गत असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित परिवारहरूलाई राहत सामग्री पुरयाउने तयारी गरिएको छ। स्थानीय तहसँग छलफल र समन्वयपछि आवश्यकता अनुसार राहत लैजाने तयारी गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू