शनिबार, ३ अक्टोबर, २०२६
16:05 | २०:५०

बेलायतमा सांसद राणाले भेटिन् सभामुखसहित अन्य राजनीतिज्ञ, पुनर्निर्माणमा सघाउन आह्वान

नेपाली लिङ्क अक्टोबर ३, २०२६

लन्डन । निजी तथा पारिवारिक भएपनि बेलायत भ्रमणका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले यहांका राजनीतिज्ञहरुसंग भेटघाट तीव्र बनाइन् ।

राणाले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखदेखि उपल्लो सदन हाउस अफ लर्डस् सदस्यहरु, लन्डन उपमेयर, राजनीतिज्ञ तथा व्यवसायीहरुलाई भेटेर भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन आह्वान गरेकी छिन् ।

राणाले सभामुख सर लिन्डसे होयलसंगको भेटघाटमा दुई शताब्दीभन्दा लामो नेपाल–बेलायत मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्दै बाढी पछि बेलायतले गरेको मानवीय सहायताप्रति आभार व्यक्त गरिन् । उनले नेपाल सरकार अब पुननिर्माणमा केन्द्रित भएकाले बेलायत सरकारबाट थप सहयोग खांचो रहेको औंल्याएकी थिइन् ।

४ नोभेम्बर २०१९ देखि यस पदमा सेवा गर्दै आएका होयल बेलायतको १५८औँ सभामुख हुन् ।

राणाले भारतीयमूलका ब्रिटिश धनाढ्य लर्डस् बिलिमोरियासंग भेट हुंदा वर्तमान नेपाल सरकारले आर्थिक समृद्धिका लागि विशेष प्राथमिकता दिएको जनाउंदै नेपालमा बेलायती लगानीका लागि आग्रह गरिन् ।

सांसद राणाले बाढीपछि पहिलोपटक उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई बेलायतले थप सहयोग गर्न कन्जुस्याईं गर्न नहुने धारणा राखेका लर्डस् पोपट, ब्यारोनेस बर्मा, बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकका पूर्व राजनीतिक सल्लाहकार तथा कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय प्रमुख अमित जोगिया, व्यापार तथा विकास हेर्ने लन्डन उपमेयर होवार्ड डबर (ओबीई) सहित नेपाली व्यापारिक समुदायसंग भेटघाट गरेकी थिइन् ।

सभामुखसंग राणा

सांसद राणाले गत अगस्ट २६ मा रसुवा, नुवाकोट र तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण धनजनको ठूलो क्षति हुंदा यसको पुननिर्माणमा नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम खर्चनु पर्ने भएकाले अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको उल्लेख गरिन् ।

नेपाल गहिरो शोकमा डुबेका बेला ब्रिटिश संसदको माथिल्लो सदन (हाउस अफ लर्डस्) र तल्लो सदन (हाउस अफ कमन्स) मा नेपालको विपद्बारे गहन छलफल गरिएको भन्दै सांसद राणाले बेलायती सरकार, जनता र जनप्रतिनिधिहरूप्रति हार्दिक आभार समेत व्यक्त गरिन्।

उनले ब्रिटिश विदेशमन्त्री एड मिलिब्याण्डका साथै सांसदहरू मोनिका हार्डिङ, क्यालम एन्डरसन र वेन्डी मोर्टनले हाउस अफ कमन्समा नेपालको पक्षमा उठाएका आवाजको सराहना गरिन् ।

त्यसैगरी हाउस अफ लर्डस्मा लर्ड बिलिमोरिया, लर्ड क्यामोयस, लर्ड पोपट, लर्ड ल्यान्कास्टर, लर्ड वुड, बारोनेस स्टुअर्ट लगायतका सांसदहरूले प्रभावित नेपाली परिवारलाई सहयोग, मानसरोवर–कैलाश यात्रीको सुरक्षा, आपत्कालीन खाद्य तथा औषधी सहायता र पूर्वसूचना प्रणालीबारे राखेका चासोहरू नेपालका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।

हालै न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली तथा साना टापु राष्ट्रहरूको तर्फबाट जलवायु न्यायको पक्षमा आवाज उठाइरहेको सन्दर्भ जोड्दै सांसद राणाले पूर्वतयारीमा लगानी, तथ्याङ्क आदानप्रदान र अनुसन्धानको क्षेत्रमा नेपाल तथा बेलायतबीच थप सहकार्य गर्नु पर्नेमा जोड दिइन्।

दुई शताब्दीभन्दा लामो नेपाल–बेलायत मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउँदै यो संकटको घडीमा अनुसन्धानकर्ता, राजनीतिज्ञ र नागरिक समाजलाई एकजुट भएर कार्य गर्न पनि उनले आह्वान गरिन् ।

‘म निजी भ्रमणमा भएपनि यो अवसरलाई मातृभूमिसंग जोडेर केही पहल गर्न लागें’, राणाले भनिन्, ‘बेलायतमा भएका भेटघाट समन्वय गर्ने व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेप्रति विशेष कृतज्ञ छु ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू