बिहीबार, १ अक्टोबर, २०२६
08:55 | १३:४०

यसपालिको दशैंमा बेलायतका सिनेमा हलमा ‘छ माया छपक्कै २’

नेपाली लिङ्क अक्टोबर १, २०२६

लन्डन- प्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ यस वर्षको दशैंमा बेलायतका प्रतिष्ठित सिनेमा हलहरूमा पनि प्रदर्शन हुने भएको छ।

बेलायत प्रदर्शन तथा वितरणको अधिकार प्राप्त ‘९७७ सिनेमा’ (पापाराजी नेपाल प्रा.लि.) ले बेलायतमा चलचित्र प्रदर्शन गर्न लागेको हो।

आगामी १७ अक्टोबर २०२६ (असोज ३१ गते) प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र सन् २०१९ को लोकप्रिय चलचित्र ‘छ माया छपक्कै’ को सिक्वेल हो।

दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीको निर्माणमा बनेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सानिशा भट्टराई, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ। हास्य, पारिवारिक सम्बन्ध र सामाजिक विषयवस्तुलाई समेटिएको चलचित्रले दर्शकलाई हाँसाउँदै मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

यसैबीच, चलचित्रको ‘माया छपक्कै’ शीर्ष गीत पनि सार्वजनिक भइसकेको छ। रमाइलो संगीत, नृत्य र पारिवारिक उत्सवको माहोल समेटिएको गीतमा चलचित्रका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ। गीत सार्वजनिक भएपछि चलचित्रप्रति दर्शकको उत्सुकता थप बढेको छ।

बेलायतमा चलचित्र प्रदर्शन हुने सिनेमा हल, शो टाइम तथा टिकट बुकिङसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने ‘९७७ सिनेमा’ ले जनाएको छ।

बेलायतमा रहेका नेपाली दर्शकका लागि यसपालिको दशैं चलचित्र छ माया छपक्कै २ संगै झन रमाइलो हुने आशा लिइएको छ। परिवार र साथीभाइसँगै आफ्नै भाषाको चलचित्र ठूलो पर्दामा हेर्दै चाडपर्वको खुशी साट्ने अवसर मिल्नेछ।

चलचित्रको यूके प्रदर्शनसम्बन्धी थप जानकारीका लागि ‘९७७ सिनेमा‘ संग जोडिन सकिनेछ।

हेरौं चलचित्रको शीर्ष गीत ‘माया छपक्कै’:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू