बिहीबार, १ अक्टोबर, २०२६
08:57 | १३:४२

डेढ करोड रुपैयाको राहत बांडेर बेलायत फर्कियो तमु धीं यूके टीम

नेपाली लिङ्क अक्टोबर १, २०२६

लन्डन- हालैको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित भएकाहरुका लागि करिब डेढ करोड रुपैंयाको राहत बोकेर नेपाल पुगेको तमु धीं यूके टीम बेलायत फर्किएको छ ।

अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा १० दिने राहत मिसनमा नेपाल गएको टोली बुधबार बेलुका बेलायत फिर्ता भएको हो। तमु धीं यूके टीम नेपालमा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाको सहयोग चेक हस्तान्तरणका साथै बाढीप्रभावित क्षेत्रमै पुगेर पीडितहरुलाई राहत सामग्री वितरण गरी फर्किएको हो।

राहत मिसनमा नेपाल गएका अध्यक्ष जुमकाजी गुरुङसंगै उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङ बुधबार बेलायत फिर्ता भएका हुन्। राहत अभियानमा संलग्न रहेर वरिष्ठ उपाध्यक्ष परशु गुरुङ भने यसअघि नै फर्किसकेका थिए।

लन्डन हिथ्रो विमानस्थल उत्रिंदा राहत मिसनबाट फर्किएको टोलीलाई तमु धीं यूकेका पदाधिकारीहरुले स्वागत गरे । स्वागतका लागि वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, ट्रष्टी एवम् पूर्व अध्यक्ष ज्ञाम गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष एवम् तमु धीं यूके आमा समूह संस्थापक अध्यक्ष पुनम गुरुङ, सल्लाहकार शान्त गुरुङ, महासचिव रक गुरुङसहितको लन्डन इकाइ टीम, कुमार गुरुङलगायत २ दर्जन बढी पदाधिकारी र सदस्य विमानस्थल पुगेका थिए।

बेलायत फर्किएलगत्तै अध्यक्ष जुमकाजी गुरुङले राहत मिसनलाई सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे । राहत वितरणका क्रममा बाढीप्रभावित क्षेत्रमा पुग्दा आफूहरुले त्यहाँको अवस्था भयानक र ह्दयविदारक पाएको अनुभव उनले सुनाए।

तमु धीं यूकेले एक जिम्मेवार संस्थाका रुपमा नेपाल सरकारका सिनियर मन्त्रीहरु एवम् उच्च राजनीतिक नेताहरुसंगको भेटमा भूतपूर्व गोर्खाहरुको वंशजको नागरिकताको मागलाई विशेष महत्वसाथ उठाएको र त्यसक्रममा गृहमन्त्री सुदन गुरुङले तत्काल कार्यान्वयनको लागि निर्देशन दिएको अध्यक्ष गुरुङले जानकारी दिए।

उपाध्यक्ष कमल कोने गुरुङले यस वर्षको नेपाली मेलाको वचत, तमु धीं यूके ट्रेलवाकर टीमले जुटाएको कोष र संस्थाका सदस्य एवम् बेलायतस्थित विभिन्न नेपाली संस्था र समुदायबाट जुटाइएको रकम जुटाएर नेपालमा राहत सहयोग गरिएको सुनाए। नेपाली मेलाको पूर्वसन्ध्यामा नेपालमा बाढीका कारण ठूलो विपदको अवस्था सिर्जना भएपछिको प्रतिकुल अवस्थामा समेत कार्यक्रमलाई सुचारु राखेर बाढीपीडितका लागि सहयोग संकलन गर्न सफल भएकोमा उनले खुशी व्यक्त गरे।

महासचिव डा विशाल गुरुङले तमु धीं यूकेले आफ्नो स्थापनाकालदेखि नै जात, धर्म र भूगोलभन्दा माथि उठेर नेपाल र नेपालीको लागि सहयोग गर्दै आएको स्मरण गराए। बाढीप्रभावितहरुको लागि बेलायतवासी नेपालीहरुको तर्फबाट सहयोग बोकेर नेपाल जांदा ठूलो जिम्मेवारी महसुश गरेको अनुभव सुनाउंदै उनले राहत वितरण सकेर बेलायत फर्किंदा भने सन्तोष लागेको बताए।

सचिव विमल गुरुङले तमु धीं यूकेको नेपाल भ्रमणका क्रममा सम्पन्न सम्पूर्ण कार्यहरुको विवरण २५ बुंदामा प्रस्तुत गरे। जसमा नेपालमा गरिएका विभिन्न भेटवार्ता, अन्तरक्रिया, राहत तथा सहयोग वितरण, विभिन्न संस्था र निकायसंगको सामाजिक तथा सांस्कृतिक सहकार्यलगायतका विवरणको सारांश सार्वजनिक गरिएको छ।

यसअघि बाढीपीडितका लागि राहत बोकेर अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वमा संस्थाको ६ सदस्यीय टोली सेप्टेम्बर २० तारिखका दिन नेपाल प्रस्थान गरेको थियो। टोलीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाको सहयोग चेक हस्तान्तरण गरेको थियो। त्यसअघि गृहमन्त्री सुदन गुरुङलाई भेटेर भूतपूर्व गोर्खाहरुको वंशजको नागरिकता निरन्तरताको ग्यारेन्टी माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । जसमा तत्काल एक्सन लिंदै गृहमन्त्री गुरुङले एक कार्यदल गठन गरी एक महिनाभित्रै अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए।

तमु धीं यूके पदाधिकारीहरु आफै बाढी प्रभावित क्षेत्र पुगेर तीन सय बढी परिवारलाई राहत बांडेका थिए। नेपालमा रहंदा तमुधिं यूके टीमले रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल अध्यक्ष कुलमान घिसिङसहित राजनीतिक तथा अन्य व्यक्तित्व तथा काठमाडौंस्थित बेलायती दूतावासससहितका विभिन्न निकायहरुसंग पनि भेटवार्ता र छलफल गरेको थियो।

तमु धीं यूकेले अब चांडै एक कार्यक्रम आयोजना गरी यस राहत अभियानमा सहयोग गर्नेहरुलाई प्रशंसापत्रसहित धन्यवाद ज्ञापन गर्ने भएको छ । सोही अवसरमा प्रेस मिटमार्फत् राहत मिसन सकेर फर्किएको टोलीका सबै सदस्यले आ आफ्नो अनुभव शेयर गर्ने समेत योजना छ।

तमु धीं यूकेको नेपाल भ्रमणको कार्य विवरण सारांश:

तमु धीं यूके (TDUK) का अध्यक्ष श्री जुम काजी गुरुङको नेतृत्वमा पदाधिकारी वरिष्ठ उपाध्यक्ष श्री पर्शु गुरुङ, उपाध्यक्ष श्री कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ तथा आमा समूहकी अध्यक्ष श्री कमला देवी गुरुङ सहितको प्रतिनिधिमण्डलले रु १ करोड ५० लाख बराबरको बाढीपीडित राहत वितरण, मानवीय सहयोग, संस्थागत समन्वय तथा नेपालमा तमु धीं यूके का आगामी कार्यक्रम र गतिविधिका सम्बन्धमा २० सेप्टेम्बर २०२६ देखि ३० सेप्टेम्बर २०२६ सम्म १० दिने नेपाल भ्रमण सम्पन्न गरेको छ।

भ्रमणका क्रममा नेपाल सरकारका विभिन्न निकाय, राजनीतिक नेतृत्व, सामाजिक तथा सांस्कृतिक संस्था, स्वास्थ्य क्षेत्र, खेलकुद क्षेत्र, शैक्षिक संस्था तथा कूटनीतिक प्रतिनिधिहरूसँग महत्वपूर्ण भेटघाट, छलफल तथा अन्तरक्रिया गरिएको थियो।

१. सरकारी तथा राजनीतिक भेटघाट

• गृह मन्त्री श्री सुदन गुरुङसँग वंशजको नागरिकताको निरन्तरता सम्बन्धी विषयमा छलफल गरियो। करिब दुई घण्टाको छलफलपछि गृह मन्त्री सुदन गुरुङज्यूले एक महिनाभित्र प्रतिवेदन तयार गर्न र कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ।

• राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेटघाट गरी तमु धीं यूके को परिचय, संस्थागत उद्देश्य तथा विभिन्न सामाजिक गतिविधिबारे जानकारी आदानप्रदान गरियो। साथै, पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा श्री लामिछानेलाई बधाई तथा शुभकामना व्यक्त गरियो।

• अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गरी रु. १,११,११,१११ बराबरको सहयोग रकमको चेक हस्तान्तरण गरियो। भेटमा डा. वाग्ले ज्यूले आफू बेलायतमा रहँदा तमु धीं यूकेको गतिविधि तथा कार्यहरूबारे पनि जानकारी भएको बताउनुभयो।

• प्रधानमन्त्री श्री बालेन शाहको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेलाई गुरखा कप २०२७ मा खेलकुद मन्त्री वा प्रतिनिधिका रूपमा सहभागी हुन आधिकारिक निमन्त्रणा पत्र हस्तान्तरण गरियो।

सरकारी तथा राजनीतिक भेटघाटका लागि काउन्सिलर ज्ञान गुरुङ ( Swindon ), Holland niwasi Anjan gurung , माननीय बिना गुरुङ र उत्तम पौडेलप्रति विशेष धन्यवाद।

२. मानवीय सहयोग तथा राहत :

• नुवाकोटमा खाद्यान्न तथा आवश्यक सामग्री गरी करिब रु. २५ लाख बराबरको राहत ३०८ घरधुरीलाई सहयोग सामग्री हस्तान्तरण गरियो।

• Fly Everest Tours and Travel मा कार्यरत रहेका ७ परिवारलाई जनही रु. १ लाखका दरले जम्मा रु. ७ लाख आर्थिक सहयोग प्रदान गरियो।

• South East Regional Tamu Dhee London का कोषाध्यक्ष श्री दिक्पाल गुरुङको सिफारिसमा दुई परिवारलाई जनही रु. ५०,००० का दरले जम्मा रु. १ लाख आर्थिक सहयोग प्रदान गरियो।

• सुन्धारास्थित स्वस्तिक होटलमा आयोजित एक कार्यक्रममा होटलका प्रोप्राइटर श्री लक्ष्मी गुरुङले तमु धीं बाढीपीडित कोषमा रु. ५०,००० सहयोग हस्तान्तरण गर्नुभयो । साथै गुरुङ जाति र मंगोल जातिको उत्पत्ति तथा बसाइँसराइका बारेमा र नेपालको समसामयिक परिस्थितिबारे डा. टेक गुरुङ, वरिष्ठ पत्रकार अनिता गुरुङ र खिम घलेसँग छलफल भयो।

• रक्तदान कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी हुनुका साथै रक्तदाता तथा स्वयंसेवकहरूका लागि खाना तथा खाजा प्रायोजन गरियो।

३. स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा सहकार्य :

• कान्तिपुर डेन्टलसँग नेपालमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्भावनाका विषयमा छलफल गरियो।

• डा. चेत पन्तसँग फेब्रुअरी २०२७ मा आयोजना हुने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरका सम्बन्धमा छलफल गरियो।

• तिलगंगा आँखा अस्पतालसँग फेब्रुअरी २०२७ मा आयोजना हुने निःशुल्क मोतिबिन्दु आँखा शिविरका विषयमा आवश्यक समन्वय तथा सहकार्यका सम्बन्धमा छलफल गरियो।

४. खेलकुद तथा युवा क्षेत्र :

• पश्चिम प्रतिना विजयपुर आर्मी Barack . ५ कोट ट्रायल वाक, ५० किलोमिटरमा पुरुषतर्फको प्रथम पुरस्कारका लागि तमु धीं यूके को तर्फबाट रु. १,५०,००० तथा महिलातर्फको प्रथम पुरस्कारका लागि तमु धीं यूके आमा समूहको तर्फबाट रु. १,५०,००० गरी जम्मा रु. ३ लाख प्रायोजन गरियो।

• पोखरा ११ सँग भेटघाट गरी गोरखा कप २०२७ का लागि स्वागत तथा शुभकामना व्यक्त गरियो।

• जिल्ला खेलकुद परिषद्, कास्कीसँग भेटघाट तथा अन्तरक्रिया गर्नुका साथै वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो।

• 25th गोरखा कप २०२७ मा सहकार्य तथा सहभागिता विस्तार गर्ने सम्बन्धमा विभिन्न सरोकारवाला पक्षसँग छलफल गरियो।

५. सामाजिक, सांस्कृतिक तथा सामुदायिक सहकार्य

• रामघाट बौद्ध अर्घु सदन गुम्बामा स्वागत कार्यक्रममा सहभागी भई TDUK द्वारा प्रदान गरिएका ru21 lakh barabar ko २१ वटा टिङको उद्घाटन गरियो।

• तमु साहित्यिक मञ्च, तमु सांस्कृतिक प्रतिष्ठान, तमु धी नेपाल, Tamu yuba bidharthi sang तथा सहारा एकेडेमीसँग Meet and Greet कार्यक्रममार्फत परिचय, अन्तरक्रिया तथा सहकार्यका सम्भावनाबारे छलफल गरियो।

• Badi le prabhabit utatrgaya Gaupalika ko उपाध्यक्ष श्रीमती चमेली गुरुङसँग नुवाकोटमा आयोजना हुने सामूहिक घेवा सम्बन्धी विषयमा छलफल गरियो। tamu Dhee UK samuhik ghewa ko lagi thap sahayog garne tayar.

६. नेपालमा लगानी तथा सहकार्य

• श्री कुलमान घिसिङसँग भेटघाट गरी नेपालमा सम्भावित लगानीका अवसर तथा सहकार्यका क्षेत्रबारे छलफल गरियो।

• नेपालमा TDUK मार्फत भविष्यमा गर्न सकिने सामाजिक, आर्थिक तथा विकासमूलक गतिविधिका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा सम्बन्धित पक्षसँग अन्तरक्रिया गरियो।

७. कूटनीतिक तथा प्रवासी समन्वय

• ब्रिटिश दूतावाससँग TDUK को नेपाल भ्रमण तथा आगामी कार्यक्रमका विषयमा छलफल गरियो।

• फेब्रुअरी २०२७ मा हुने आगामी नेपाल भ्रमणमा ब्रिटिश दूतावासका राजनीतिसम्बन्धी प्रमुख James Toole लाई सहभागी हुन निमन्त्रणा गरियो।

• TDUK लाई ब्रिटिश दूतावासको Diaspora Engagement Plan सँग जोड्ने सम्भावनाका विषयमा छलफल गरियो।

• यस सम्बन्धमा दूतावास तथा सम्बन्धित पक्षबीच आगामी दिनमा थप बैठक तथा समन्वय गर्ने सहमति भएको जानकारी प्राप्त भयो।

यस नेपाल भ्रमणले TDUK र नेपालस्थित विभिन्न सरकारी, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, खेलकुद तथा कूटनीतिक निकायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। आगामी दिनमा भएका छलफल, सहमति तथा सहकार्यलाई ठोस कार्यक्रममार्फत कार्यान्वयन गर्दै TDUK को सामाजिक तथा मानवीय योगदानलाई अझ प्रभावकारी बनाउने उद्देश्य रहेको छ।

नेपालमा सम्पूर्ण कार्यक्रमको व्यवस्थापन गर्नुहुने ओम आशीर्वाद होटलका सञ्चालक विजय गुरुङ, पत्रकार डन्डा गुरुङ र आश गुरुङलाई धन्यवाद

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू