नेपाल भ्रमणको अन्तिम दिन तमु धीं यूके टीमको सक्रियता

काठमाडौं- झन्डै डेढ करोड रुपैयाँ बराबरको राहत तथा सहयोग लिएर नेपाल पुगेको तमु धीं यूकेको टोली मंगलबार आफ्नो दश दिने नेपाल भ्रमणको अन्तिम दिन काठमाडौंमा विभिन्न कार्यक्रम तथा भेटघाटमा सक्रिय रह्यो।
अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टीमले विभिन्न व्यक्ति तथा निकायसँग भेटवार्ता गर्दै राहत, सहयोग, सामाजिक कार्य तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गरेको हो।
त्यस क्रममा तमु धीं यूकेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भेटवार्ता गर्नुका साथै रसुवाको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङसँग आर्थिक अवस्था कमजोर भएका मृतक परिवारका लागि सामूहिक सेवा गर्ने विषयमा छलफल गरेको छ।
यसै क्रममा काठमाडौंस्थित बेलायती राजदूतावासमा पुगेर राजदूतावासका अधिकारीहरूसँग समेत भेटवार्ता गरिएको छ। भेटमा नेपालमा गरिएको राहत तथा सहयोग, सामाजिक कार्य तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

कुलमान घिसिङसँग भेट
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले नक्सालस्थित काठमाडौं म्यारियट होटलमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भेटवार्ता गरेको हो।
भेटमा नेपालको समसामयिक राजनीति, विदेशमा रहेका नेपालीको नागरिकता, विदेशी लगानी तथा ऊर्जा क्षेत्रका विषयमा छलफल भएको थियो। सन् २०२५ मा तमु धीं यूकेले आयोजना गरेको १६औँ नेपाली मेलामा सहभागी भएकोमा घिसिङलाई धन्यवादसमेत दिइएको थियो।
घिसिङले विदेशमा रहेका नेपाली तथा उनीहरूका सन्तानको वंशजको नागरिकताको निरन्तरताका विषयमा आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताए। उनले जलविद्युत्, सौर्य ऊर्जा, चार्जिङ स्टेसन तथा डेटा सेन्टरलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको बताए।
भेटका क्रममा तमु धीं यूकेले सन् २०२७ मा आयोजना गर्ने २५औँ गोर्खा कप तथा स्वर्ण महोत्सवमा सहभागी हुन घिसिङलाई निमन्त्रणा दिएको छ।
आर्थिक रूपमा कमजोर परिवारलाई सहयोगबारे छलफल

तमु धीं यूके र रसुवाको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङबीच आर्थिक अवस्था कमजोर भएका मृतक परिवारका लागि सामूहिक सहयोग गर्ने विषयमा छलफल भएको छ।
सुन्धारास्थित आशीर्वाद होटलमा भएको छलफलमा रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गरिरहेका पीडित परिवारलाई सेवा गर्ने स्थान र त्यसका लागि लाग्ने खर्च मुख्य समस्या रहेको जानकारी दिइएको थियो।
आर्थिक अभावका कारण कतिपय परिवारले परम्परागत रूपमा तीन दिनसम्म गरिने सेवा एक दिनमै सीमित गर्नुपर्ने तथा ४९ दिनभित्र समेत सेवा गर्न नसक्ने अवस्था रहेको जनाइएको छ। त्यसैले आर्थिक रूपमा कमजोर परिवारका लागि सामूहिक सेवा गर्ने प्रस्ताव अघि सारिएको हो।
छलफलमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव बिमल गुरुङ, आमा प्रमुख कमला देवी गुरुङ, पत्रकार तथा कार्यक्रम संयोजक डण्ड गुरुङलगायतको उपस्थिति थियो।
उपाध्यक्ष चमेली गुरुङले बेलायतबाट सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिइन्। उनले सामूहिक सेवा गर्ने विषयमा थप छलफल गरी आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


