सोमबार, २८ सेप्टेम्बर, २०२६
08:40 | १३:२५

बाढीमा ज्यान गुमाएका नागरिकको सम्झनामा लन्डन ट्राफल्गर स्क्वायरमा दीपप्रज्वलन

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२६

लन्डन — नेपालको उत्तरी क्षेत्रमा गत महिना आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा लन्डनको प्रसिद्ध ट्राफल्गर स्क्वायरमा दीपप्रज्वलन तथा श्रद्धाञ्जलि सभा गरिएको छ।

आइतबार आयोजित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली समुदाय तथा नेपालका शुभचिन्तकहरू सहभागी भई बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति दीप प्रज्वलन गर्नुका साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरे ।

गत २६ अगस्टमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने झन्डै ६०० विदेशी नागरिकसहित ५ हजार बढी बेपत्ता छन्।

कार्यक्रममा बोल्दै बार्नेट बरोका पूर्व उपमेयर तथा काउन्सिलर लक्ष्य गुरुङले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरे ।

संकटको यस घडीमा बेलायत सरकार तथा ब्रिटिश जनताले दर्शाएको सहानुभूति र सहयोगका लागि धन्यवाद दिँदै उनले नेपालको पुनर्निर्माण कार्यमा थप सहयोग पुर्‍याउन बेलायत सरकारसँग आग्रह गरे ।

गैरआवासीय नेपाली संघ आइसिसीकी सचिव एवं एनएचएसमा कार्यरत वरिष्ठ नर्स प्रसुना कँडेलले सञ्चारमाध्यममा आएका समाचारभन्दा वास्तविक स्थिति झनै दर्दनाक र कठिन रहेको बताइन् । प्रभावित क्षेत्रमा मेडिकल क्याम्प सञ्चालन तथा राहत वितरण गरी भर्खरै लन्डन फर्किएकी कँडेलले भनिन्, “अब जलवायु परिवर्तनका विषयमा गम्भीर भएर छलफल गर्ने समय आएको छ। प्राकृतिक रूपमा सुन्दर भए पनि नेपाल जलवायु परिवर्तनजन्य आपदाको उच्च जोखिममा छ।”

उनले नेपालको पुनर्निर्माण र पुनस्थापनामा सहयोग गर्न सबैलाई अपिल पनि गरिन् ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले जलवायु परिवर्तन नेपाल एक्लैले समाधान गर्न सक्ने मुद्दा नभएको बताउँदै अन्तरराष्ट्रिय समुदाय, विशेष गरी पश्चिमी देशहरूले हिमाली राष्ट्रहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए । “हामीले स्थानीय काउन्सिल, स्थानीय सांसदहरु र बेलायत सरकारसम्म आफ्ना आवाजहरू पुर्‍याउनुपर्छ,” पुडासैनीले भने । उनले एनआरएनए यूकेको बाढी राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद दिए ।

लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव संजोक राईले दीपप्रज्वलन कार्यक्रम आयोजना गरी प्रवासमा रहेका नेपाली र नेपालका मित्रहरूलाई एकजुट बनाएकोमा आयोजकलाई धन्यवाद दिँदै दूतावासको तर्फबाट यस्ता सामाजिक कार्यहरूमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।


नेप्लिज ब्रिटिश कम्युनिटी यूके अध्यक्ष समीरनाथ प्याकुरेलले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै ‘ग्लोबल वार्मिङ’ मा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनको ठूलो मार खेप्नुपरेको बताए । “नेपालमा भएको यो दुःखद घटना केवल नेपालको मात्र समस्या होइन, विश्वव्यापी चेतावनी हो,” उनले भने ।

औद्योगिक देशहरूले गरेको उत्सर्जनका कारण हिमाली क्षेत्रका पग्लिँदै गएका ग्लेशियरहरूले तल्लो भूभागमा बसोबास गर्ने करोडौं जनताको जीवन र जीविका माथि गम्भीर जोखिम उत्पन्न भएको उनले जनाए।

“यी मैनबत्तीहरू अन्ततः निभ्ने नै छन्, तर हाम्रो एकताको ज्योति भने सधैं प्रज्वलित रहनुपर्छ। एक समुदायको रूपमा, हामी स्वदेशमा भइरहेका आपत्कालिन राहत र दीर्घकालीन पुनर्निर्माणका प्रयासहरूलाई निरन्तर सहयोग गरिरहनेछौं। नेपाल बचाउन हिमालय बचाऔं र हाम्रो पृथ्वी बचाउन नेपाल बचाऔं,” प्याकुरेलले भने।

कार्यक्रममा धादिङ नुवाकोट समाजका अध्यक्ष बुद्धि तामाङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, युवा प्रतिनिधि सुशान्त चुडाल, नेप्लिज नर्सेस एसोसिएसन यूकेकी पूर्व अध्यक्ष सुनिता गौतम, मनिषा डंगोल, राजु पाण्डे लगायत समुदायका अगुवाहरूले बाढीपीडितका लागि ऐक्यबद्धता र सहयोग आह्वान गरेका थिए ।

व्यवसायी तथा समाजसेवी उत्तम नेपालले छोरी सुष्मा नेपालको पहलमा आफ्नो परिवारले सुरु गरेको ‘गो फन्ड मी’ अभियानमा अहिलेसम्म झन्डै १७ हजार पाउण्ड संकलन भै सकेको भन्दै छिट्टै आफुहरुले प्रभावित क्षेत्रमै पुगेर सहयोग गर्ने जानकारी दिए।

नेप्लिज ब्रिटिश कम्युनिटी यूकेका सचिव दामोदर आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा बेलायतस्थित नेपाली समुदायले विपद्‌को यो घडीमा अल्पकालीन राहत र दीर्घकालीन पुनर्निर्माण दुवैमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

फोटो: शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू