अक्टोबर १० मा १९औं रेडिङकप- फुटबल, भलिबलसहित विविध मनोरञ्जन

लन्डन- बेलायतको रेडिङमा वर्षेनी आयोजना हुंदै आएको रेडिङकपको १९ औं संस्करण यसपटक यही अक्टोबर १० तारिखमा हुंदैछ ।
रेडिङको पाल्मर पार्कमा तय कार्यक्रममा बेलायतव्यापी फुटबल र भलिबल प्रतियोगितासंगै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने भएका छन् ।
आयोजक ग्रेटर रेडिङ नेपाली कम्युनिटीले आइतबार बिहान एक पत्रकार सम्मेलन गरी १९ औं रेडिङकपको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । आयोजकले रेडिङ र आसपासका साथै बेलायतभरका नेपालीलाई कार्यक्रममा सहभागी हुन आव्हान गरेका छन् ।
पत्रकार सम्मेलनमा रेडिङकप संयोजक मीनकुमार गुरुङले यसपटक युवा, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा फुटबल प्रतिस्पर्धा गराइने बताए । त्यस्तै, भलिबलतर्फ भेट्रान विधामा प्रतियोगिता सञ्चालन गरिनेछ।
संयोजक गुरुङका अनुसार फुटबलतर्फ युवा विधामा विजेतालाई २ हजार २६ पाउण्ड र उपविजेतालाई १ हजार २६ पाउण्ड नगदहित ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । त्यस्तै, भेट्रानमा विजेतालाई १ हजार २६ र उपविजेतालाई ५ सय २६ पाउण्ड तथा सुपर भेट्रानमा विजेतालाई ५ सय २६ पाउण्ड र ३ सय २६ पाउण्ड नगद र ट्रफी, मेडलसहितको पुरस्कार रहनेछ ।
भलिबल प्रतियोगिताका विजेतालाई १ हजार २६ पाउण्ड र उपविजेतालाई ६ सय २६ पाउण्ड नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टीमहरुलाई आउँदो अक्टोबर ६ तारिख सोमबारभित्र नाम दर्ता गर्न आव्हान गरिएको छ ।
प्रतियोगितास्थलमा विभिन्न नेपाली खाना र सामग्रीसहित व्यापार, सेवाका स्टलहरु र निशुल्क हेल्थ क्याम्प स्टल राखिनेछन् । कार्यक्रममा मौलिक नौमती बाजाको विशेष प्रस्तुतिसहितका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि रहनेछन्।
पत्रकार सम्मेलनमा कम्युनिटीका पूर्व अध्यक्ष महेश गुरुङले सन् २००६ मा आफ्नै संयोजनमा रेडिङकप शुरु गर्दाको सन्दर्भ सम्झिंदै सुरुआती यात्राबारे जानकारी गराए।
कम्युनिटीका अध्यक्ष भीमसेन खड्काले रेडिङकप फुटबल र भलिबलको खेल महोत्सव मात्र नभइ स्थानीय नेपाली समुदायभित्रको एकता र सद्भावलाई बलियो बनाउने अवसर रहेको बताए।
यसपटक दशैंको केही दिनअघि मात्रै आयोजना हुने कार्यक्रमलाई उत्सवका रुपमा उल्लासमय ढंगले मनाउने योजना रहेको उनले जनाए । कार्यक्रममा सहभागी भइदिन उनले बेलायतवासी समस्त नेपाली र सिंगो समुदायलाई आग्रह गरे ।
१९ औं रेडिङकपका आर्थिक संयोजक एवं संस्थाका उपाध्यक्ष बालकृष्ण दाहालले कार्यक्रमका आर्थिक पक्ष तथा कोष संकलन अभियानसम्बन्धि जानकारी गराए ।
पत्रकार सम्मेलन सञ्चालन गर्दै कम्युनिटीका सचिव सुवास चौलागाईंले फुटबल र भलिबलका साथै विभिन्न नेपाली खाना, सामग्री र सेवाका स्टल, हेल्थ क्याम्प तथा मनोरञ्जनात्मक प्रस्तुति समेत रहने कार्यक्रममा सहभागी भइ ‘फेमिली डे आउट’ का रुपमा इन्जोइ गर्न आव्हान गरे ।
सल्लाहकार सुरेश थापाले आफू अपरेसन म्यानेजर रहेको ‘असम बुक’ बाट कार्यक्रमका लागि ४ हजार पाउण्डको मुख्य प्रायोजन सम्झौता गरिएको जनाउँदै आउँदा वर्षहरुमा यसलाई बढाउंदै लगिने बताए। भलिबल प्रतियोगिता संयोजक प्रकाश सापकोटाले यसपटक सहभागी हुने टीम र खेल सञ्चालनबारे जानकारी दिए।
पत्रकार सम्मेलनमा समाजका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु एवम् कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति थियो ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


