शान्ति नेपाली समाज बेलायतबाट बाढीपीडित राहतमा ३९ लाख बढी सहयोग

लन्डन- शान्ति नेपाली समाज बेलायतले नेपालका बाढीपीडितका लागि करिब ३९ लाख २ हजार रुपैया बराबरको सहयोग गरेको छ।
समाजले विभिन्न माध्यमबाट राहतका लागि उक्त रकम नेपाल पठाइसकेको जानकारी समाजका पूर्व अध्यक्ष एवम् बाढीपीडित राहत कोष संयोजन समितिका सदस्य कोशलेश्वर ढकालले जानकारी दिए ।
शान्ति नेपाली समाजले सहयोग रकम तीन चरणमा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गराएको छ । जसमध्ये पछिल्लो समय १८ लाख ५४ हजार रुपैया कोषमा जम्मा गरिएको छ। यसअघि बाढी आएको १२ घण्टाभित्रै २ लाख ५० हजार रुपैया प्रधानमन्त्री राहत कोषमै पठाइसकिएको थियो। त्यस्तै, थप रु. १४ लाख ९२ हजार राहत कोषमा सिधै ट्रान्सफर गरिएको जनाइएको छ।
त्यसैगरी, करिब रु. १ लाख १२ हजार स्थानीय बाढीपीडितलाई प्रत्यक्ष हस्तान्तरण गरिएको र संस्थाले राहत अभियानका क्रममा मसलन्द, च्यारिटी बक्स, ब्यानरलगायत सामग्रीमा लागेको करिब २ सय ५० पाउण्डको खर्चसमेत आफैंले व्यहोरेको जनाएको छ।
यसका अतिरिक्त, संस्थाका सदस्यहरूले व्यक्तिगत रूपमा तथा आफ्ना व्यवसायमार्फत आयोजना गरेका विभिन्न च्यारिटी कार्यक्रमबाट संकलित रकम पनि आफैंले सिधै प्रधानमन्त्री बाढीपीडित राहत कोषमा जम्मा गरेका छन्। यस्तो व्यक्तिगत तथा व्यवसायिक पहलबाट अन्दाजी रु. २० लाख बराबरको थप सहयोग भएको संस्थाले जनाएको छ।
समाजका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालमा आएको विनाशकारी बाढीका बेला सहयोग गर्ने आफ्ना सदस्य, शुभेच्छुक तथा सहयोगीहरूप्रति संस्थाका तर्फबाट आभार व्यक्त गरेका छन् ।
आगामी दिनमा थप सहयोग रकम प्राप्त भएमा उक्त रकम पनि प्रधानमन्त्री बाढीपीडित राहत कोषमा हस्तान्तरण गरिने समाजले जनाएको छ।
समाजको बाढीपीडित राहत कोष संयोजन समितिमा संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार कोशलेश्वर ढकाल, अध्यक्ष तथा ट्रस्टी प्रमुख रामप्रसाद न्यौपाने र महासचिव तथा ट्रस्टी राजेशमणि लामिछाने थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


