शुक्रबार, २५ सेप्टेम्बर, २०२६
09:46 | १४:३१

भोटेकोशी बाढीपीडितलाई साझा नेपाली समाज बेलायतको १३ लाख सहयोग

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२६

लेस्टर–साझा नेपाली समाज बेलायतले भोटेकोशी बाढीपीडितका लागि रु १३ लाख नेपाल पठाएको छ।

मिडल्यान्डस्थित नेपालीहरूको संयुक्त संस्थाले आफ्ना तीन कार्यक्रमबाट बचत भएको रकममध्ये उक्त सहयोग प्रधानमन्त्री कार्यालयसँग समन्वय गरी पठाएको हो।

समाजले गत ३१ अगस्टमा तेस्रो साझा भजन महोत्सव २०२६, दोस्रो साझा भलिबल रनिङ शिल्ड प्रतियोगिता र दोस्रो जेन–जी मेमोरियल नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो।

कार्यक्रमको समीक्षा र आयव्यय अनुमोदनका लागि २१ सेप्टेम्बरमा लेस्टरस्थित ब्लु पिटर बार एवं रेस्टुरेन्टमा संयुक्त कार्यसमिति बैठक बसेको थियो।

अध्यक्ष नारायण प्रसाद फुयाँलको अध्यक्षतामा बसेको बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्‍यो।

मृतकहरूको चिरशान्तिको कामनापछि सुरु भएको बैठकले कार्यक्रमको आयव्यय विवरण सर्वसम्मतिले पारित गर्दै विषम परिस्थितिका बीच पनि तीनवटै कार्यक्रम सफल भएको निष्कर्ष निकालेको थियो।

बैठकले मूल संयोजक दीपक सापकोटा, सहसंयोजक शिव खराल सदस्य दिपक पौडेल, आर्थिक संयोजक महेश अधिकारी र मार्गदर्शन गर्ने ट्रष्टीहरूलाई विशेष धन्यवाद दिएको छ।

भजन महोत्सवका संयोजकहरू कार्यसमिति सचिव गोविन्द सापकोटा, राहुल देव सापकोटा र दीपिका सापकोटा, भलिबल प्रतियोगिताका संयोजकहरू बम नेपाली, शिव खड्का र रवि गिरी तथा क्रिकेट प्रतियोगिताका संयोजकहरू केशव खत्री, ईश्वर रिजाल र सूर्य सापकोटाको योगदानको पनि प्रशंसा गरिएको छ।

खाना तथा प्रसाद प्रायोजन गर्ने सल्लाहकार मिलन सापकोटा, काँटा, प्लेट, चम्चा र टिस्युजस्ता सामग्री प्रायोजन गर्ने उपाध्यक्ष गणेश सापकोटा, र खाना तयार गर्ने गोर्खा एक्सप्रेसका सञ्चालक तथा कर्मचारीहरूलाई बैठकले आभार व्यक्त गरेको छ।

सहभागी भलिबल तथा क्रिकेट टोलीहरू, विभिन्न ठाउँबाट आएका भजन मण्डली, पण्डितहरू, भक्तजन, खेलप्रेमी तथा प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडीलाई पनि धन्यवाद दिइएको छ।

महासचिव शशांक शर्माका अनुसार बैठकमा उठेका प्रश्नहरूको जवाफ ट्रष्टीहरू रण बहादुर केसी, महेश अधिकारी र दीपक सापकोटा तथा अध्यक्ष फुयाँलले दिएका थिए।

उनीहरूले आगामी दिनमा पनि मातृभूमि नेपाल र मिडल्यान्डवासी नेपालीहरूको सेवामा समर्पित रहने प्रतिबद्धता जनाए।

बैठकमा गोविन्द सापकोटा, सुरेश केसी, दिनेश ढकाल, राजु कँडेल, केशव भण्डारी, गणेश सापकोटा, पुण्डरी प्रसाद अर्याल, ईश्वर रिजाल, गोमा पौडेल, गङ्गाधर गौतम, शिव खराल र लक्ष्मी खराल गैरेले आ–आफ्ना धारणा राखेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू