तमु समाज यूकेद्वारा बाढी प्रभावितका लागि २५ लाख बढी सहयोग हस्तान्तरण


लन्डन– बेलायतस्थित अग्रणी सामाजिक संस्था तमु समाज यूकेले विनाशकारी बाढीपहिरो प्रभावितहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि सङ्कलित २५ लाख एक हजार एक सय रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको छ।
जम्मा गरिएको उक्त रकमको प्रतीकात्मक चेक आज गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरिएको हो।
भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका साथै धादिङ, नुवाकोट, चितवनलगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई राहत पुर्याउने उद्देश्यले तमु समाज यूकेले विशेष राहत सङ्कलन अभियान सञ्चालन गरेको थियो।
उक्त अभियानमा समाजका सदस्यहरू, विभिन्न सङ्घसंस्था, व्यवसायी, कम्पनी तथा शुभचिन्तकहरूले आर्थिक योगदान गरेका थिए।
गृहमन्त्रीलाई सम्मान तथा शुभकामना व्यक्त

गृह मन्त्रालय (सिंहदरबार) मा आयोजित हस्तान्तरण कार्यक्रममा तमु समाज युके आमा समूहकी संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीमती माया गुरुङको नेतृत्वमा रहेको ४ सदस्यीय प्रतिनिधिमण्डलले गृहमन्त्रीलाई चेक हस्तान्तरण गरेको हो।
प्रतिनिधिमण्डलमा तमु समाज युकेकी पूर्व प्रथम महिला श्रीमती विष्णुमति गुरुङ, समाजसेवी चन्द्रबहादुर गुरुङ र सुश्री माया (डोल्मा) गुरुङ सहभागी थिए।
सो अवसरमा तमु परम्पराअनुसार गृहमन्त्री गुरुङलाई खादा, फेटा, भाङ्ग्रा, गलबन्दी, माला र पुष्पगुच्छा अर्पण गरी विशेष सम्मान गरियो।
प्रतिनिधिमण्डलकी प्रमुख श्रीमती माया गुरुङले समाजका तर्फबाट तथा व्यक्तिगत रूपमा गृहमन्त्रीलाई सम्मान व्यक्त गर्दै भनिन्— “नेपाल सरकारको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएका माननीय गृहमन्त्रीज्यूलाई तमु परम्पराअनुसार सम्मान गर्न पाउँदा हामीलाई खुसी र गौरव लागेको छ। यहाँको कार्यकाल पूर्ण रूपमा सफल रहोस् र जनताको सेवामा यहाँले गर्नुभएका सबै प्रयासहरू सफल हुँदै जाऊन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।”
चेक हस्तान्तरणका क्रममा गृहमन्त्री गुरुङले विपत्तिको घडीमा बेलायतमा रहेर पनि मातृभूमिका लागि ठूलो रकम सङ्कलन गरी सरकारी कोषमा जम्मा गरेकोमा तमु समाज युके परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।
तमु समाज यूकेले भोटेकोशी बाढी तथा बाढीपहिरो प्रभावितका लागि गरिएको यस सहयोगलाई मातृभूमिप्रतिको अगाध आत्मीयता, भाइचारा र मानवीय सेवाप्रतिको निरन्तर प्रतिबद्धताका रूपमा लिएको छ।
सहयोग हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन र सङ्कलन अभियानमा तमु समाज युकेकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ र कोषाध्यक्ष श्रीमती चन्द्र कान्ता गुरुङले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
गृहमन्त्री गुरुङसँग भेटघाट कार्यक्रम समन्वय स्विन्डनका काउन्सिलर ज्ञान गुरुङले गरेका थिए।
यसैगरी, नेपालका पत्रकार डण्ड गुरुङले पनि तमु समाज यूके प्रतिनिधिमण्डलसँगै कार्यक्रममा सहभागी भई समाचार सम्प्रेषणमा सहयोग गरेका थिए।
तमु समाज युकेले यस राहत अभियानमा योगदान गर्ने सम्पूर्ण दाता, सदस्य, सङ्घसंस्था, कम्पनी तथा शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। साथै, रकम सङ्कलनमा अहोरात्र खटिनुभएका पदाधिकारी तथा सदस्यहरू, नेपाल पुगेर चेक हस्तान्तरण गर्नुभएका प्रतिनिधिहरू, र कार्यक्रमको व्यवस्थापन, समन्वय एवम् समाचार सम्प्रेषणमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति समाजले धन्यवाद अर्पण गरेको छ।

तमु समाज युकेले बाढीपहिरोको विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र अझैसम्म बेपत्ता रहेका नागरिकहरूको खोजी कार्य सफल होस् भन्ने कामना गरेको छ।
सामाजिक सेवामा संस्थाको निरन्तरता
तमु समाज युकेले स्थापनाकालदेखि नै बेलायतस्थित तमु तथा नेपाली समुदायबीच एकता र आपसी सद्भाव बढाउनुका साथै भाषा, संस्कार–संस्कृतिको संरक्षण र सामाजिक सेवामा निरन्तर काम गर्दै आएको छ। नेपालमा आइपरेका हरेक प्राकृतिक विपद्का समयमा समाजले सधैँ अग्रपङ्क्तिमा रहेर सहयोग पुर्याउँदै आएको छ।
यसअघि सन् २०१५ को विनाशकारी भूकम्प, सेती नदीको बाढी तथा कोरोना महामारीका बेला पनि समाजले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण र आर्थिक सहयोग पुर्याएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


