बुधबार, २३ सेप्टेम्बर, २०२६
20:24 | ०१:०९

बर्मिङहमको ‘टेष्ट अफ हिमालयन’ ले जित्यो ‘बेस्ट इमर्जिङ रेष्टुरेन्ट ब्रान्ड’ अवार्ड

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२६

अवार्ड ग्रहण गर्दै सञ्चालक तथा हेड सेफ तेज भण्डारी।

लन्डन- बेलायतमा नेपाली स्वाद र परिकारलाई प्रवर्द्धन गर्दै आएको रेष्टुरेन्ट ‘टेष्ट अफ हिमालयन’ ले अर्को प्रतिष्ठित अवार्ड जितेको छ।

बर्मिङहमको ब्ल्याकहिथ रउलीमा सञ्चालित रेष्टुरेन्टले ‘बेस्ट इमर्जिङ रेष्टुरेन्ट ब्रान्ड’को सम्मान प्राप्त गरेको हो।

गत सोमबार म्यानचेस्टरस्थित ‘द एडवार्डियन म्यानचेस्टर’ मा आयोजित ‘इन्डियन रेष्टुरेन्ट समिट एन्ड अनर्स २०२६’ को रिजनल एडिसनमा टेष्ट अफ हिमालयनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

टेष्ट अफ हिमालयनका लागि यो पछिल्लो उपलब्धि निरन्तर सफलताको अर्को महत्वपूर्ण कडी बनेको छ। यसअघि २०२५ मा रेष्टुरेन्टले ‘नेपलिज रेष्टुरेन्ट अफ द इयर’ अवार्ड जितेको थियो भने २०२४ मा सोही विधामा रनरअप बनेको थियो।

सञ्चालक तथा हेड सेफ तेज भण्डारीको नेतृत्वमा टेष्ट अफ हिमालयनले नेपाली मौलिक परिकारसँगै नेपाली स्वादअनुसार तयार पारिएका इन्डियन परिकारसमेत ग्राहकलाई पस्किंदै आएको छ। मःम, छोइला, सुकुटी र सेकुवालगायत मौलिक नेपाली परिकार रेष्टुरेन्टका विशेष आकर्षण छन्।

नेपाली तथा इन्डियन खानाको क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव संगालेका भण्डारीले भारत र कतारमा लामो समय काम गरेपछि बेलायतमा आफ्नो व्यावसायिक यात्रा अघि बढाएका हुन्।

नयाँ अवार्डपछि टेष्ट अफ हिमालयनले आयोजक तथा आफ्नो यात्रामा निरन्तर साथ दिने ग्राहक, स्टाफ र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

निरन्तर अवार्ड र ग्राहकको विश्वासले बेलायतमा नेपाली खानाको पहिचानलाई थप उचाइमा पुर्‍याउने आफ्नो प्रयासमा उत्साह थपिएको भण्डारीले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू