बुधबार, २३ सेप्टेम्बर, २०२६
17:50 | २२:३५

बाढी प्रभावित क्षेत्रमै पुगेर तमु धीं यूकेले बाँड्यो ३ सय ८ परिवारलाई राहत

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२६

काठमाडौं- बाढीबाट प्रभावितहरुको लागि राहत लिएर नेपाल गएको तमु धीं यूकेले बाढी प्रभावित ३ सयभन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरेको छ।

तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा बुधबार बाढी प्रभावित क्षेत्रमै पुगेर रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावित ३ सय ८ परिवारलाई राहत सामग्री वितरण गरिएको महासचिव डा विशाल गुरुङले नेपालीलिंकलाई जानकारी दिए।

बाढीका कारण विस्थापित भई नुवाकोटको विदुर नगरपालिका–पिपलडाँडास्थित होल्डिङ सेन्टरमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का बाढीपीडित परिवारलाई राहत वितरण गरिएको हो।

पीडित परिवारलाई चामल, दाल, नुन, तेल, ब्ल्याङ्केट, सेनिटरी प्याडलगायतका अत्यावश्यक सामग्री वितरण गरिएको थियो। राहत वितरणका क्रममा तमु धीं यूकेको टोली रसुवा र नुवाकोटको सीमा क्षेत्र खाल्टेसम्म समेत पुगेको थियो।

राहत वितरण कार्यक्रममा उपस्थित उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले बाढीपीडितका लागि राहत उपलब्ध गराएकोमा तमु धीं यूके तथा बेलायतमा रहेका सम्पूर्ण नेपालीलाई धन्यवाद व्यक्त गरिन्।

स्थानीयस्तरबाट प्राप्त समन्वय र पीडित परिवारको आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिएको जानकारी तमु धीं यूके सचिव विमल गुरुङले दिए। आगामी दिनमा पनि बाढी प्रभावित परिवारको आवश्यकता पहिचान गरी थप सहयोग वितरण गर्ने तमु धीं यूकेले जनाएको छ।

राहत वितरणमा तमु धीं यूके वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङलगायत सहभागी थिए।

यसअघि मंगलबार तमु धीं यूकेले बाढीपीडितका लागि संकलन गरेको १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको राहत चेक कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको थियो।

संस्थाको राहत वितरणका लागि सहजिकरण गरिदिने नेपालस्थित पत्रकारहरु डण्ड गुरुङ र आसबहादुर गुरुङ तथा संस्थाका सदस्य विजय गुरुङप्रति तमु धीं यूकेले आभार प्रकट गरेको छ।

अध्यक्ष जुमकाजी गुरुङले संस्थाको बाढी पीडित राहत अभियानमा सहयोग संकलनदेखि वितरणसम्ममा सहयोग पुर्र्याउने सम्पूर्ण सदस्य, बेलायतको नेपाली समुदाय एवं नेपालस्थित सहयोगी सबैप्रति संस्थाका तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू