तमु धीं यूकेको १ करोड ११ लाख बढीको सहयोग चेक कावा प्रधानमन्त्रीलाई हस्तान्तरण

लन्डन- बेलायतको प्रभावशाली नेपाली संस्था तमु धीं यूकेले नेपालका बाढी प्रभावितका लागि एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा नेपाल पुगेको तमु धीं यूकेको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग चेक हस्तान्तरण गरेको हो। उक्त रकम यसअघि नै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भइसकेको थियो। यसबाहेक तमु धीं यूकेका पदाधिकारीहरू बाढी प्रभावित क्षेत्रमा पुगेर करिब ३० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत वितरण गर्दैछन्।
अर्थ मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङले सहयोग चेक कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण गरेका थिए।
चेक ग्रहण गर्दै वाग्लेले विपद्को कठिन समयमा बेलायतमा रहेका नेपालीहरूबाट सहयोग जुटाएर नेपालमा राहत तथा पुनःस्थापनाका लागि योगदान पुर्याएकोमा तमु धीं यूकेलाई धन्यवाद दिए। उनले बेलायतवासी नेपालीहरूको सहयोगलाई नेपालसम्म ल्याउन तमु धीं यूकेले निर्वाह गरेको समन्वयकारी भूमिकाको प्रशंसासमेत गरे।
मन्त्री वाग्लेले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हालसम्म १६ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको जानकारी दिँदै बाढी तथा विपदबाट प्रभावित र विस्थापित परिवारलाई तत्काल अस्थायी व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा स्थायी पुनःस्थापनाका लागि सरकार तयारीमा जुटिरहेको जाकारी गराए।
त्यस अवसरमा तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङले तमु धीं यूकेमाथि विश्वास गर्दै नेपालका बाढी तथा विपद् प्रभावितका लागि सहयोग उपलब्ध गराउने बेलायतवासी नेपाली तथा विभिन्न संघसंस्थाप्रति धन्यवाद व्यक्त गरे। अप्ठ्यारो परेको समयमा आफ्नो मातृभूमिका लागि सहयोग गर्नु तमु धीं यूकेका लागि महत्वपूर्ण जिम्मेवारी र कर्तव्य रहेको उनको भनाइ थियो।
सो अवसरमा तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले सन् २००० मा बेलायतमा स्थापना भएको संस्थाले सञ्चालन गर्दै आएका सामाजिक तथा परोपकारी गतिविधिका साथै नेपाली मेला, गोर्खा कपलगायतका ठूला वार्षिक कार्यक्रमबारे कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री वाग्लेलाई जानकारी गराएका थिए।
त्यस्तै, सांसद बिना गुरुङले तमु धीं यूकेको टोली तथा संस्थाबारे जानकारी दिंदै कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री वाग्लेसंग परिचय गराएकी थिइन्।
सोही अवसरमा तमु धीं यूकेका तर्फबाट अध्यक्ष जुमकाजी गुरुङले कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री वाग्लेमार्फत प्रधानमन्त्री बालेन्द्र शाहका लागि एक ज्ञापनपत्र पनि बुझाएका थिए।
सचिव विमल गुरुङले वाचन गरेर सुनाएको ज्ञापनपत्रमा भूतपूर्व गोर्खाहरूका वंशजको नेपाली नागरिकताको निरन्तरता, तमु धीं यूकेले वार्षिक रूपमा आयोजना गर्दै आएको गोर्खा कपमा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तथा नेपाली मेलामा पर्यटन तथा संस्कृति मन्त्रीलाई सहभागी गराउने व्यवस्था गर्नुपर्नेलगायतका विषय समेटिएका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङसहितका पदाधिकारीको पनि सहभागिताथियो।
यसअघि मंगलबार बिहान तमु धीं यूकेको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि भेटेको थियो। भेटमा लामिछानेले देशलाई अप्ठ्यारो परेको समयमा तमु धीं यूकेले गरेको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिएका थिए। बेलायतमा रहेर पनि नेपाल र नेपालीपनका लागि संस्थाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले संस्थाको निरन्तरताका लागि शुभकामना दिएका थिए।
सो अवसरमा तमु धीं यूकेका तर्फबाट अध्यक्ष जुमकाजी गुरुङले सभापति लामिछानेलाई सम्मान गरेका थिए।
राहत सहयोग लिएर तमु धीं यूकेको ६ सदस्यीय टोली सोमबार नेपाल पुगेको थियो। नेपाल पुगेकै दिन टोलीले गृहमन्त्री सुदन गुरुङलाई भेटेर भूतपूर्व गोर्खाहरूका वंशजको नागरिकता निरन्तरतासहित विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमाथि तत्काल एक्सन लिँदै गृहमन्त्री गुरुङले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने म्यान्डेटसहित कार्यदल गठन गर्न गृहसचिवलाई निर्देशन दिएका थिए।
तमु धीं यूके टीम बुधबारदेखि बाढी प्रभावित क्षेत्रमै पुगेर राहत बाँड्दैछ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


