मंगलबार, २२ सेप्टेम्बर, २०२६
13:00 | १७:४५

जनसम्पर्क समिति बेलायतको अधिवेशन १० असोजभित्र गर्नुपर्ने निर्देशन पालना गर्न आग्रह

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२६

लन्डन-नेपाली जनसम्पर्क समिति, बेलायतका पूर्व उपसभापति एवं नेपाली कांग्रेस महासमिति सदस्य बिजन भट्टले समितिको आगामी १० असोजभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित संयोजकमा नियुक्त भएका शेरबहादुर सुनारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

युवा नेता भट्टले मंगलबार एक अपिल जारी गर्दै कांग्रेसको विधान, निर्देशन तथा मार्गदर्शनसँगै नेपाली जनसम्पर्क समिति बेलायतको विधानअनुसार क्रियाशील सदस्यता दर्ता तथा नवीकरण प्रक्रिया विधिवत् सम्पन्न गरी अधिवेशन तथा कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले आवश्यक विधि र प्रक्रियालाई सम्मान गर्दै सहयोग गर्न बेलायतस्थित नेपाली कांग्रेसका नेता, कार्यकर्ता, भ्रातृसंस्थाका पदाधिकारी तथा सदस्य र शुभेच्छुकहरूलाई आग्रह पनि गरेका छन् ।

केन्द्रीय कार्यालयको निर्देशनअनुसार १० असोजभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने समयसीमालाई विशेष प्राथमिकताका साथ पालना गर्नुपर्ने उल्लेख गर्दै भट्टले सबै पक्षबीच सहकार्य, समझदारी र समन्वय कायम गर्दै अघि बढेमा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहज हुने बताएका छन् ।

उनले उपलब्ध समयको सदुपयोग गर्दै अधिवेशनसँग सम्बन्धित सबै आवश्यक प्रक्रिया निर्धारित समयमै पूरा गर्न सम्बन्धित सबै पक्षलाई आग्रह पनि गरेका छन् ।

यस महत्वपूर्ण अभियानमा आवश्यक सहयोग, सुझाव तथा समन्वयका लागि आफू जुनसुकै समयमा पनि तयार रहेको जानकारी दिँदै भट्टले एकता, सहकार्य र लोकतान्त्रिक विधिको सम्मान गर्दै नेपाली जनसम्पर्क समिति बेलायतको आसन्न अधिवेशन सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू