स्कटल्यान्डको हिमालयन सेन्टरलाई नेशनल लटरीबाट झन्डै २० हजार पाउन्ड

एडिनबरा- स्कटल्यान्डको एडिनबरास्थित हिमालयन सेन्टरले युवामुखी कार्यक्रम सञ्चालनका लागि नेशनल लटरी कम्युनिटी फन्डबाट आर्थिक सहयोग प्राप्त गरेको छ।
सेन्टरले ‘यङ भोइस, स्ट्रङ फ्युचर्स’ कार्यक्रमका लागि १९ हजार ९३० पाउन्ड सहयोग प्राप्त गरेको सेन्टरका अध्यक्ष मनिष खत्रीले नेपाली लिंकलाई जानकारी दिए।
अध्यक्ष खत्रीका अनुसार प्राप्त कोषबाट सेन्टरमा युवाहरूको सहभागिता र नेतृत्व बढाउने उद्देश्यमा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
सेन्टरमा हुने कार्यक्रम तथा गतिविधिको योजना र निर्णय प्रक्रियामा युवाहरूको सहभागिता बढाउन युवा समूह गठन गरिनेछ। युवाहरूले सेन्टरमा कस्ता कार्यक्रम आवश्यक छन् र के सुधार गर्नुपर्छ भन्ने विषयमा आफ्ना विचार राख्न सक्नेछन्।
कार्यक्रमअन्तर्गत युवाहरूलाई पोडकास्ट निर्माण, लेखनदेखि आफ्ना विचार तथा अनुभव व्यक्त गर्ने तथा सञ्चारमाध्यमसम्बन्धी सीप सिक्ने अवसरसमेत दिइनेछ।
एडिनबरा तथा सिंगो स्कटल्यान्डमा बस्ने १२ देखि २४ वर्ष उमेरका जुनसुकै समुदायका युवा कार्यक्रममा सहभागी हुन सक्नेछन्। केही कार्यक्रम अनलाइनमार्फत पनि सञ्चालन गरिनेछ।
अध्यक्ष खत्रीले नयाँ विचार वा केही नयाँ गर्ने चाहना भएका युवाहरूलाई कार्यक्रममा जोडिन आग्रह गरेका छन्। साथै, आफ्ना छोराछोरीलाई कार्यक्रममा सहभागी हुन प्रोत्साहित गर्न अभिभावकहरूलाई समेत आग्रह गरिएको छ।
कार्यक्रममा सहभागी हुन चाहने युवाहरूले [email protected] मा इमेलमार्फत् सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


