जनसम्पर्क समिति बेलायतको संयोजक तोकिए शेर सुनार, एक साताभित्रै अधिवेशन गराउने जिम्मेवारी

लन्डन- नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेलायतको अधिवेशन गराउने जिम्मा समितिका नेता एवम् समाजसेवी शेरबहादुर सुनारले प्राप्त गरेका छन्।
पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले सुनारलाई जनसम्पर्क समिति बेलायतको संयोजक तोकेर समितिको अधिवेशन गराउने जिम्मेवारी प्रदान गरेका हुन्।
शनिबार असोज ३ को मितिमा सभापति थापाले पठाएको पत्रमा असोज १० गते ( सेप्टेम्बर २७ तारिख) भित्रै अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।
‘नेपाली जनसम्पर्क समिति, बेलायतमा आबद्ध वर्तमान र पूर्व समितिका साथीहरू बीच आवश्यक संवाद र सबै पक्षसँग समन्वय गरी सबैको सहभागिता हुने गरी २०८३ असोज १० गते भित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गराउने कार्यादेश सहित तपाईँलाई नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधन सहित) बमोजिम जनसम्पर्क समिति बेलायतको संयोजकको विशेष जिम्मेवारी प्रदान गरिएको छ’, पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘तपाईँको नेतृत्वमा जनसम्पर्क समितिमा आबद्ध सबै साथीहरू बीच आवश्यक संवाद गरी तोकिएको समयभित्र पार्टीले स्वीकृत गरेको विधान बमोजिम सबै पक्षसँग समन्वय गरी सदस्यता वितरण र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न हुनेछ, संगठनलाई सुदृढ, गतिशील र परिणाममुखी बनाउन हुनेछ भन्ने अपेक्षा सहित सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु ।’
जनसम्पर्क समिति बेलायतको संयोजकको जिम्मेवारी आफूलाई प्रदान गरेकोमा धन्यवाद दिंदै सुनारले पार्टीको विधान र केन्द्रीय सभापतिको निर्देशनअनुसार सबै पक्षलाई समेटेर समयभित्रै अधिवेशन सम्पन्न गर्ने अठोट व्यक्त गरेका छन् ।
‘मलाई यो गहन भूमिकाको लागि योग्य ठानेर पार्टी केन्द्रीय समिति र सभापतिले जिम्मेवारी दिनुभएको रुपमा मैले लिएको छु’, सुनारले भने, ‘बेलायतमा रहनुभएका सबै पक्ष र साथीहरुसंग संवाद र सरसल्लाह गरी सबैको सहभागितामा अधिवेशन सम्पन्न गर्नेतर्फ मेरो पूर्ण कोशिस रहनेछ ।’
समितिको अधिवेशन सफल पार्ने कार्यमा पार्टी र संगठनको हितलाई ध्यानमा राखेर एकताबद्ध रुपमा उभिन उनले बेलायतस्थित सबै नेता, कार्यकर्तालाई आव्हान समेत गरेका छन्।
लामो समयदेखि विभाजित अवस्थामा रहेको जनसम्पर्क समिति बेलायतलाई सुनारको नेतृत्वमा हुने नयाँ अधिवेशनबाट एकताबद्ध हुने अवसर आएको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


