नेपालकै पहिलो लण्डन मिसन सम्हाल्न ९२ वर्षमा २४ जना राजदूत, यस्तो छ इतिहास


लन्डन । नेपाल सरकारले बेलायतका लागि नयाँ राजदूतमा पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणालाई सिफारिस गरेसँगै लन्डनस्थित नेपाली दूतावासको नौ दशक लामो कूटनीतिक इतिहास फेरि एकपटक चर्चामा आएको छ ।
नियुक्तिका लागि संसदीय सुनुवाइलगायत संवैधानिक तथा कूटनीतिक प्रक्रिया पूरा हुन अझै बाँकी छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदनपछि सम्बन्धित मुलुकबाट एग्रीमो (सहमति) प्राप्त भएपछि राष्ट्रपतिले औपचारिक नियुक्ति गर्ने व्यवस्था छ।उक्त प्रक्रिया पूरा भए लगत्तै राणा बेलायतका लागि नेपालको २४औँ राजदूत बन्नेछन् र ९२ वर्षे लामो कूटनीतिक परम्परामा नयाँ अध्याय थपिनेछ।
लन्डनस्थित नेपाली दूतावासको आधिकारिक अभिलेखअनुसार नेपालले सन् १९३४ मा लन्डनमा आफ्नो पहिलो विदेशी कूटनीतिक नियोग स्थापना गरेको थियो । यही नै विदेशमा स्थापना भएको नेपालको पहिलो कूटनीतिक नियोग हो। सन् १९४७ मा उक्त नियोगलाई राजदूतस्तरमा स्तरोन्नति गरिएको थियो। दूतावासको अभिलेखमा सन् १९३४ देखि १९३६ सम्म जनरल बहादुर शमशेर जंगबहादुर राणा पहिलो कूटनीतिक प्रतिनिधिका रूपमा रहेको उल्लेख छ।
त्यसपछि क्रमशः जनरल कृष्ण शमशेर जंगबहादुर राणाले सन् १९३६ देखि १९३९ सम्म र जनरल सिंह शमशेर जंगबहादुर राणाले सन् १९३९ देखि १९४७ सम्म जिम्मेवारी सम्हालेका थिए ।
हालसम्म बेलायतमा नेपालका २३ जना कूटनीतिक नियोग प्रमुखले जिम्मेवारी सम्हालिसकेका छन्। सुरुका तीन जना ‘मिनिस्टर’का हैसियतमा कार्यरत थिए भने सन् १९४७ पछि भने सबै राजदूतको रूपमा नियुक्त भएका छन्। केसर शमशेर जंगबहादुर राणा १९४७ देखि १९४९ सम्म चौंथो तथा पहिलो राजदूत बने।
त्यसपछि शंकर शमशेर जंगबहादुर राणा, दमन शमशेर जंगबहादुर राणा, प्राध्यापक रामप्रसाद मानन्धर, कालीप्रसाद उपाध्याय, ईश्वरीराज मिश्र, कर्णेल उपेन्द्रबहादुर बस्न्यात, जनरल किरण शमशेर जंगबहादुर राणा, झरेन्द्र नारायण सिंह र ईश्वरीराज पाण्डेले क्रमशः नेतृत्व गरे।
त्यसैगरी मेजर जनरल भरतकेशर सिम्हा, सूर्यप्रसाद श्रेष्ठ, डा. सिंहबहादुर बस्न्यात, प्रबल शमशेर जंगबहादुर राणा, मुरारीराज शर्मा, डा. सुरेशचन्द्र चालिसे, डा. दुर्गाबहादुर सुवेदी, लोकदर्शन रेग्मी, ज्ञानचन्द्र आचार्य र चन्द्रकुमार घिमिरे क्रमशः १४औँदेखि २३औँ राजदूतका रूपमा कार्यरत रहे।
सन् २००६ मा १७ औं राजदूत प्रवल शम्सेर पछि पुन: राणा खानदानबाट राजदूत नियुक्त हुन लागेको हो।
चन्द्रकुमार घिमिरेले १ मे २०२५ मा बकिङ्घम प्यालेसमा राजा चाल्र्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । नेपाल सरकारले फिर्ता बोलाएपछि ९ महिनामै उनी फर्कनु परेको थियो । हाल दूतावासको नेतृत्व कार्यवाहक राजदूत विपिन दुवाडीले गरिरहेका छन्।
दुवाडीबाहेक यसअघि पछिल्लो समय तेज बहादुर क्षेत्री, शरदराज आरन र रोशन खनालले विभिन्न समयमा कार्यवाहक राजदूतको सफल भूमिका निर्वाह गरेका थिए।
नेपाल र बेलायतबीचको औपचारिक कूटनीतिक सम्बन्ध सन् १८१६ देखि कायम छ। बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो मुलुक हो भने लन्डन नै नेपालले विदेशमा आफ्नो पहिलो कूटनीतिक नियोग स्थापना गरेको सहर हो। सन् १९२३ को मैत्री सन्धिले दुई देशबीचको सम्बन्धलाई थप औपचारिक र सुदृढ बनाएको थियो।
यस ऐतिहासिक पृष्ठभूमिमा २४औँ राजदूतका लागि प्रस्तावित गौरव शमशेर जंगबहादुर राणाको परिचय पनि उत्तिकै चासोको विषय बनेको छ। विसं २०१२ देखि २०१५ सम्म नेपालको प्रधानसेनापति रहेका राणाको जन्म सन् १९५५ डिसेम्बर १२ मा काठमाडौंको बबरमहलमा भएको हो।
उनी राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति, बबरशमशेरका नाति र पूर्वउपरथी आदित्य शमशेरका छोरा हुन्। नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका राणाको कार्यकालमा पूर्वमाओवादी लडाकुहरूको सेनामा समायोजन प्रक्रिया अघि बढेको थियो। विसं २०७२ को भूकम्पपछि उनले ‘अपरेशन संकटमोचन’मार्फत उद्धार तथा राहत कार्यको नेतृत्व गरेका थिए ।
बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टलगायत विभिन्न प्रतिष्ठित सैन्य शिक्षालयमा अध्ययन गरेका राणाले दक्षिण लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाली बटालियनको कमान्डसमेत सम्हालेका थिए ।
प्राप्त जानकारी अनुसार उनले पाकिस्तानको कायदे–आजम युनिभर्सिटीबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक गरेका छन्।
उनी रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्ट (यूके), यू.एस. आर्मी कमान्ड एण्ड जनरल स्टाफ कलेज (फोर्ट लिभनवर्थ) र पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीका स्नातक हुन्।
उनी हाल कन्जर्भेसन एलायन्स नेपालको अध्यक्ष छन् र हार्भर्ड युनिभर्सिटी, इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्रयाटेजिक स्टडिज (लन्डन) तथा संयुक्त राष्ट्रसंघको पहिलो डिफेन्स चीफ्स कन्फरेन्सजस्ता संस्थाहरूमा नियमित वक्ताका रूपमा सहभागी हुँदै आएका छन्।
नयाँ राजदूत सामु पुराना र नयाँ एजेन्डा
नियुक्ति प्रक्रिया पूरा गरी राणा लन्डन आएमा उनका सामु नेपाल–बेलायत सम्बन्धका पुराना र नयाँ दुवै एजेन्डा रहनेछन्।
दुई देशबीचको व्यापार तथा लगानी विस्तार, बेलायती लगानी नेपाल भित्र्याउने पहल, विकास साझेदारी र आर्थिक कूटनीतिलाई थप प्रभावकारी बनाउने विषय महत्वपूर्ण छन्। पछिल्लो समय दूतावासले समेत नेपाल–यूके आर्थिक साझेदारी, व्यापार, लगानी र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ।
त्यससँगै दुई शताब्दीभन्दा पुरानो नेपाल–बेलायत सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालमा विपद् व्यवस्थापन तथा विकासका क्षेत्रमा बेलायती सहयोग अभिवृद्धिका लागि पहल गर्ने र लामो समयदेखि समाधानको प्रतीक्षामा रहेको भूतपूर्व गोर्खा सैनिकहरूको माग तथा सरोकारमा दुई सरकारबीच संवादलाई अघि बढाउने विषय पनि लन्डनस्थित नेपाली दूतावासका महत्वपूर्ण कूटनीतिक एजेन्डा रहनेछन्।
९२ वर्षअघि बहादुर शमशेर जंगबहादुर राणाबाट सुरु भएको लन्डनस्थित नेपाली कूटनीतिक नियोगको यात्रा अब अर्को मोडमा आइपुगेको छ। संसदीय सुनुवाइ, एग्रीमो र औपचारिक नियुक्तिको प्रक्रिया पूरा भए गौरव शमशेर जंगबहादुर राणा त्यही ऐतिहासिक शृंखलाको २४औँ कडी बन्नेछन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


