आइतबार, १३ सेप्टेम्बर, २०२६
08:45 | १३:३०

बाढीपीडित सहयोगार्थ तमुधिं यूके टीमको ट्रेलवाक, १ सय किमी २२ घण्टा ५४ मिनेटमा पूरा

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२६

लन्डन- नेपालको विनाशकारी बाढीबाट प्रभावित परिवारहरुको सहयोगार्थ तमुधिं यूके टिमले १ सय किलोमिटर लामो च्यारिटी ट्रेलवाक सफलतापूर्वक पूरा गरेको छ।

क्वीन्स गोर्खा सिग्नल्सले हरेक वर्ष आयोजना गर्दै आएको ट्रेलवाकमा यसपटक तमुधिं यूकेको प्रतिनिधित्व गर्दै सहभागी टिमले २२ घण्टा ५४ मिनेटमा उक्त दूरी पूरा गरेको हो। टीमका सबै सदस्यले कुनै पनि चोटपटकबिना ट्रेलवाक पूरा गरेका छन्।

ट्रेलवाकमा तमुधिं यूकेको तर्फबाट लिडर शान्तकुमार गुरुङसंगै क्याप्टेन लक्ष्य गुरुङ, तर्कजंग गुरुङ, शारदा गुरुङ र उपाध्यक्ष कमल गुरुङ सहभागी थिए।

त्यस्तै, ‘सपोर्ट क्रु’ को भूमिका प्रकाश गुरुङ, उमा गुरुङ, रोशनी गुरुङ र रोशन गुरुङले निर्वाह गरेका थिए। अन्तिम चेकपोइन्ट ८ देखि ब्राइटन रेस कोर्सको फिनिस लाइनसम्म सूर्य गुरुङले विशेष सहयोग गरेका थिए।

शनिबार बिहान ट्रेलवाकको सुरुवाती स्थलमा पुगेर तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले चेकपोइन्ट २ सम्म तथा चेकपोइन्ट ८ देखि फिनिस लाइनसम्म ‘सपोर्ट क्रु’ को भूमिका निर्वाह गरेका थिए। उनले सहभागीहरूलाई निरन्तर हौसला दिँदै खाना तथा पानीको व्यवस्थामा समेत सक्रिय सहयोग गरेका थिए।

महासचिव डा. विशाल गुरुङ पनि चेकपोइन्ट ५ मा सपोर्ट क्रुसँग जोडिएका थिए। आफ्नो ‘पिपल ग्रुप’सँग रिले पूरा गरेपछि उनी तमुधिं यूकेको टिमलाई हौसला र सहयोग गर्न चेकपोइन्ट ९ देखि फिनिस लाइनसम्म टिमसँगै रहेका थिए।

आइतबार बिहान करिब ५ः२० बजे १ सय किलोमिटर ट्रेलवाक पूरा गरेको सम्पूर्ण टिम तथा सपोर्ट क्रुलाई तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले खादा लगाएर सम्मान तथा बधाई दिएका थिए।

अध्यक्ष गुरुङले सफलतापूर्वक ट्रेलवाक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण आयोजक तथा सहयोगी टिमलाई तमुधिं यूकेको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।

तमुधिं यूके टीमको ट्रेलवाकमार्फत बाढीपीडित सहयोगार्थ जस्टगिभिङ अभियान सञ्चालन गरी हालसम्म ५ हजार भन्दा बढी रकम संकलन भइसकेको उपाध्यक्ष कमल गुरुङले जानकारी दिए। उनका अनुसार यो सहयोग संकलन अभियान १५ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ।

यसअघि तमुधिं यूकेले यस वर्षको नेपाली मेलाबाट बचत भएको रकम, विभिन्न सहयोगी संघसंस्था र इकाइ तथा सदस्यहरूको दानसमेत गरी नेपाल सरकारलाई रु. १ करोड १ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

तस्विर- प्रकाश गुरुङ / डा. विशाल गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू