बाढीपीडितको लागि नवलपुर जिल्ला समाज यूकेले पठायो १० लाख बढी सहयोग

लण्डन- नवलपुर जिल्ला समाज यूकेले नेपालका बाढी प्रभावितहरूको लागि १० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग पठाएको छ।
समाजले बेलायतमा संकलन गरेको ५ हजार ३ सय ११ पाउन्ड ४ पेन्स नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावितहरूका लागि सहयोग गरेको हो। सहयोग रकम बुधबार कोषमा जम्मा गरिएको समाजले जनाएको छ।
नेपालमा बाढीको विपद् सिर्जना भएपछि समाजले आकस्मिक बैठक गरी आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो। समाजका अध्यक्ष सन्तोष रेग्मी केही समयका लागि यूके बाहिर रहेकाले अभियानको नेतृत्व तथा समन्वय गर्ने जिम्मेवारी कार्यवाहक अध्यक्षका रूपमा उपाध्यक्ष प्रकाश कंडेललाई दिइएको थियो।
सोहीअनुसार समाजका सदस्य तथा सल्लाहकारहरूसमेतको सहयोगमा बेलायतमा रकम संकलन गरिएको हो। समाजले अभियानमा सहभागी भई बाढीपीडितका लागि सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गरेको छ।
यसैबीच, समाजको निमन्त्रणामा बेलायत आएकी गायिका रूपी सिन्जालीको बिदाइ तथा सांस्कृतिक साँझ यही सेप्टेम्बर २६ तारिख सांझ प्लमस्टेडस्थित गोर्खा क्याप्रिकनमा आयोजना हुने भएको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


