शनिबार, १९ सेप्टेम्बर, २०२६
09:17 | १४:०२

पूर्व गोर्खा बुढामगरलाई पहिलो ‘इन्भिक्टस रेजिलेन्स अवार्ड’, च्यारिटीमा १६ लाख पाउण्ड सङ्कलन

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२६

समारोहमा बेलायती राजकुमार ह्यारी

लन्डन । पूर्वगोर्खा सैनिक तथा विश्वकीर्तिमानी आरोही हरि बुढामगर पहिलो ‘इन्भिक्टस रेजिलेन्स अवार्ड’बाट सम्मानित भएका छन्।

बेलायती राजकुमार ह्यारीद्वारा स्थापित इन्भिक्टस गेम्स फाउन्डेसनले लन्डनमा आयोजना गरेको पहिलो ‘इन्भिक्टस स्पिरिट अवार्ड्स’ समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

अवार्ड ग्रहण गरेपछि बुढामगरले जीवनका चुनौती पार गर्न यो सम्मानले थप हौसला दिएको बताए। ‘म मेरो भाग्यको निर्माता हुँ, म मेरो आत्माको नायक हुँ ! म इन्भिक्टस हुँ र हामी सबै मिलेर इन्भिक्टस हौँ,’ उनले भने।

उक्त च्यारिटी तथा अवार्ड समारोहबाट १६ लाख पाउण्ड बढी रकम सङ्कलन भएको फाउन्डेसनले जनाएको छ।

सङ्कलित रकम विश्वका २६ देशका घाइते तथा बिरामी सेवारत र पूर्वसैनिकहरूको आत्मबल बढाउन तथा पुनःस्थापनामा सहयोग गर्न प्रयोग गरिने जनाइएको छ।

पूर्व रोयल गोर्खा राइफल्सका कर्पोरल बुढामगरले सन् २०१० मा अफगानिस्तानमा युद्धका क्रममा दुवै खुट्टा गुमाएका थिए। उनले सन् २०२३ मा दुवै घुँडाभन्दा माथिबाट खुट्टा गुमाएका व्यक्तिका रूपमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोही हुन् उनी ।

बुढामगरले विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने ‘सेभेन समिट्स’ अभियानमार्फत अपाङ्गता भएका व्यक्तिहरूप्रतिको सामाजिक दृष्टिकोण बदल्ने प्रयाससमेत गर्दै आएका छन्।

समारोहमा इन्भिक्टस गेम्स फाउन्डेसन, अस्ट्रेलिया तथा बर्मिंघममा सन् २०२७ मा आयोजना हुने इन्भिक्टस गेम्सका प्रतिनिधिसहित विभिन्न देशका अतिथिहरूको सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू