बेलायतमा यसपालिको तीज: रौनकभन्दा बाढीपीडितलाई सहयोग जुटाउने माध्यम बन्यो

लन्डन । रातो सारी, हरियो पोते, तीजका भाका र छमछमी नाचले हरेक वर्ष गुन्जायमान हुने बेलायतको नेपाली समुदायमा यसपालि तीजको माहोल नितान्त फरक देखियो। नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय पीडाका कारण यहाँका नेपालीको ध्यान पर्वको रमझमभन्दा बाढीपीडितका लागि सहयोग जुटाउनेतर्फ बढी केन्द्रित भयो।
विगत वर्षहरुमा तीज नजिकिएसँगै बेलायतका विभिन्न सहरमा हप्तौँ अघिदेखि कार्यक्रमको चहलपहल सुरु हुन्थ्यो। नेपालबाट कलाकार बोलाउनेदेखि कम्युनिटी हल र रेस्टुरेन्टमा दर खाने, गीत गाउने र नाचगान गर्ने लहर नै चल्थ्यो। यसपालि पनि धेरै कार्यक्रम पहिल्यै तय भएका थिए र कतिपय कलाकारहरूनेपालबाट बेलायत आइपुगेका थिए। तर नेपालमा भोटेकोशीको बाढीले ठूलो जनधनको क्षति गरेपछि यहाँको माहोल एकाएक बदलियो। कतिपय तीज कार्यक्रम रद्द भए भने आयोजना गरिएका कतिपय कार्यक्रमले आफ्नो स्वरूप नै परिवर्तन गरे। मनोरञ्जनका लागि तय गरिएका जमघट राहत संकलन र पीडितप्रति ऐक्यबद्धता जनाउने माध्यम बने। तीज गीत गुन्जिए, नाचगान पनि भए, तर त्यससँगै मातृभूमिको पीडा र पीडितलाई कसरी सहयोग गर्ने भन्ने विषय कार्यक्रमहरूको केन्द्रमा रह्यो।
बेलायतमा यस वर्ष आयोजना गरिएका ठूला तीज कार्यक्रममध्ये एक ‘तीज धमाका २०८३’ ले समेत आफ्नो स्वरूप परिवर्तन गर्यो । मिलानोयर इभेन्ट्सले पूर्वनिर्धारित कार्यक्रम ‘तीज फर अ कज’मा रूपान्तरण गर्दै मनोरञ्जनसँगै मानवीय सहयोगलाई प्राथमिकता दियो। सेप्टेम्बर ११ मा पूर्वी लन्डनको म्यानर पार्क स्टेसननजिकै रहेको ‘द रोयल रेजेन्सी’मा आयोजित कार्यक्रममा गायकद्धय बद्री पंगेनी, दुर्गेश थापा र गायिका समीक्षा अधिकारी सहभागी भए । नेपालमा बाढीको विपद् आएपछि कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी सहयोगसँग जोडिएको आयोजकले जनाएको छ।
कार्यक्रम सञ्चालनमा लागेको खर्च कटाएर बाँकी रहने सम्पूर्ण रकम बाढीपीडितको सहयोगमा पठाउने प्रतिवद्धता आयोजकको छ । पूर्वनिर्धारित कार्यक्रम रद्द गर्नुको सट्टा त्यसलाई पीडितका लागि सहयोग जुटाउने माध्यममा रूपान्तरण गरिएको प्रयासलाई सहभागी कलाकारहरूले समेत सकारात्मक रूपमा लिए । यद्यपि, उक्त कार्यक्रममा दर्शक संख्या अपेक्षा गरे जति नभएकाले आयोजकले बाढी पीडितलाई के कति सहयोग गर्छन् हेर्न बांकी छ ।
क्षेत्री समाज बेलायतले पनि तीज कार्यक्रम रद्द गरेर बाढीपीडितलाई सहयोग संकलन गर्नेतर्फ जोड दियो। विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति क्षेत्री समाज यूके (क्षेत्री वेलफेयर फाउन्डेसन यूके) ले गहिरो दुःख तथा शोक व्यक्त गर्दै प्रभावितहरूको सहयोगार्थ राहत अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। बाढीका कारण ठूलो संख्यामा मानिसले ज्यान गुमाएको र सयौं व्यक्ति बेपत्ता भएको दुःखद परिस्थितिलाई मध्यनजर गर्दै समाजले पूर्वनिर्धारित आफ्ना केही प्रमुख कार्यक्रमसमेत स्थगित गर्ने निर्णय गर्यो ।
त्यसैगरी नेप्लिज लेडिज कम्युनिटी हन्स्लोले पनि यस वर्षको तीजलाई फरक र मानवीय उद्देश्यसँग जोड्यो। हरेक वर्ष मनोरञ्जनात्मक तीज कार्यक्रम आयोजना गर्दै आएको संस्थाले यसपटक नेपालमा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि कार्यक्रमलाई ‘च्यारिटी तीज फर नेपाल’ को स्वरूप दिएको हो।
कार्यक्रममा विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो भने विपद्मा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जलीसमेत अर्पण गरियो। कार्यक्रममा सहभागीहरूको मुहारमा तीजको उल्लाससँगै मातृभूमिप्रतिको माया र बाढीपीडितप्रतिको सहानुभूति झल्किएको थियो।
रसुवा र नुवाकोटलगायत क्षेत्रमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले पूर्वनिर्धारित तीज कार्यक्रमलाई च्यारिटीको स्वरूप दिइएको आयोजकले भनाइ छ । यसले यसपालि बेलायतको नेपाली समुदायमा देखिएको साझा मनोभावलाई प्रतिनिधित्व गर्यो कि पर्व मनाउने हो तर देशको पीडालाई बिर्सेर भने होइन ।
तीजलाई लक्षित गर्दै यसपालि पनि नेपालबाट विभिन्न कलाकार बेलायत आएका थिए । गायिका शोभा त्रिपाठी विभिन्न कार्यक्रममा सहभागी हुन बेलायत आइपुगेकी थिइन्। तर नेपालमा अकल्पनीय विपद् आएपछि उनका समेत केही कार्यक्रम रद्द भए भने आयोजना भएका केही कार्यक्रम राहत संकलनसँग जोडिए। त्रिपाठीले बेलायत आएपछिको आफ्नो ठूलो कार्यक्रमका रूपमा ‘धादिङ नुवाकोट समाज’को कार्यक्रममार्फत २२ लाख रुपैयाँभन्दा बढी संकलन गरी पीडितलाई राहतस्वरूप नेपाल पठाइएको बताउँदै सहयोगीप्रति धन्यवाद व्यक्त गरेकी छन्।
लोकगायिका अस्मिता डल्लाकोटी पनि बेलायतमै रहेर संघसंस्थाद्वारा आयोजित तीज कार्यक्रमलगायत बाढीपीडीत लक्षित सहयोग कार्यक्रममा समेत सहभागी हुँदै आएकी छन्।
देशमा बाढीले निम्त्याएको पीडाका बीच उनका प्रस्तुतिमा मनोरञ्जनसँगै मातृभूमिप्रतिको माया र पीडितप्रतिको सद्भावसमेत जोडिएको देखियो ।
मोडल अस्मिता रानाले पनि तीजका कार्यक्रमसँगै बाढीपीडितको सहयोगार्थ आयोजना गरिएका च्यारिटी कार्यक्रममा सक्रिय भइन्। विपद्को समयमा कलाकारको उपस्थितिलाई मनोरञ्जनमा मात्र सीमित नराखी सहयोग र ऐक्यबद्धतासँग जोड्ने अभियानमा उनी पनि सहभागी भइन्।
कलाकार शिवदास गुरुङले पनि बेलायतमा आयोजित विभिन्न कार्यक्रममा आफ्ना प्रस्तुतिमार्फत नेपालप्रतिको माया, सद्भाव र ऐक्यबद्धता व्यक्त गर्दै आएका छन् ।
गायिका सपना रोकाले समेत वकिङमा सयपत्री कल्चरल ग्रुपद्धारा आयोजित सयपत्री हरितालिका तीज च्यारिटी कार्यक्रमलाई बाढी पीडितप्रति समर्पित गर्दै आफ्नो गायन प्रस्तुत गरिन् ।
अन्य गायिकाहरु निता थापामगर, सविना बुढामगर, जमुना राना र लोकगायक कृष्ण सुवेदीले समेत आफ्ना कार्यक्रमलाई बाढी पीडितको सहयोगार्थ केन्द्रित गरे । नेपालाबात आएका मात्र होइन यहाँका स्थानीय कलाकारहरुसमेत देशको पीडामा मलम लगाउने काममा पछि हटेनन् ।
देश विपत्तिमा परेका बेला कलाकारहरूले मञ्चबाट पीडितलाई सम्झने र सहयोगका लागि समुदायलाई प्रेरित गर्ने क्रम यसपालिको तीजमा देखियो।
यसरी नेपालबाट आएका तथा बेलायतमै रहेका कलाकारको सहभागिताले तीजलाई केवल मनोरञ्जनमा सीमित राखेन । गीत संगीत र प्रस्तुतिसँगै बाढीपीडितका लागि सहयोग, सद्भाव र मातृभूमिप्रतिको जिम्मेवारीको सन्देश पनि तीजका मञ्चबाट प्रवाहित भयो।
बदलिएको माहोलको प्रभाव कार्यक्रमस्थलमा मात्रै सीमित रहेन। बेलायतबाट सार्वजनिक हुने तीज गीत र तिनको प्रचारप्रसारमा समेत त्यसको असर देखियो।
बेलायतमा रहेका नेपाली सर्जक तथा कलाकारले हरेक वर्ष तीजलाई लक्षित गरी नयाँ गीत सार्वजनिक गर्दै आएका छन्। यसपालि भने त्यसको चहलपहल तुलनात्मक रूपमा कम देखियो। केही कलाकारले तयार भइसकेका गीत सार्वजनिक गरे पनि प्रचारप्रसारमा विगतको जस्तो उत्साह देखाएनन्।
हाल बेलायतमा रहेकी गायिका भूमिका शाहले आफ्नै शब्द, संगीत र स्वरमा तीज गीत तयार गरेकी थिइन् तर देशको परिस्थितिलाई ध्यानमा राख्दै गीतको प्रचारप्रसारमा हतार गरिनन्। त्यस्तै बेलायतबाट सार्वजनिक भएका केही तीज गीतले सांगीतिक उत्सवको अपेक्षित रौनक भने लिन सकेनन्।
यसपालिको तीजलाई विगतका वर्षसँग तुलना गर्दा एउटा फरक दृश्य प्रस्ट देखियो। तीजका कार्यक्रमभन्दा पनि नेपालका बाढीपीडितलाई सम्झिने, ज्यान गुमाएकाको स्मृतिमा दीप प्रज्वलन गर्ने, श्रद्धाञ्जली सभा आयोजना गर्ने र राहत संकलन गर्ने गतिविधिमा बेलायतका नेपालीको समय बढी बित्यो। तीजका लागि छुट्याइएको समय, स्रोत र सामुदायिक सक्रियताको एउटा हिस्सा विपद् प्रभावितका लागि सहयोग जुटाउन प्रयोग भयो। कतिपयले कार्यक्रमको स्वरूप बदले, कतिपयले टिकट तथा अन्य माध्यमबाट सहयोग जुटाए भने विभिन्न संघसंस्थाले छुट्टाछुट्टै राहत अभियान सञ्चालन गरे।
यसले प्रवासमा पर्वको अर्थ रमाइलो र परम्परामा मात्र सीमित नरहेको देखाएको छ। मातृभूमि संकटमा पर्दा त्यही सामाजिक सञ्जाल र सामुदायिक संरचना राहत र ऐक्यबद्धताको माध्यम बन्न सक्छ भन्ने उदाहरण पनि यसपालिको तीजले प्रस्तुत गरेको छ।
हरितालिका तीज नेपाली नारीका लागि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । प्रवासमा तीजको अर्थ समुदायलाई एकै ठाउँमा ल्याउने अवसरका रूपमा स्थापित हुँदै गएको छ। तर यसपालि त्यही समुदायलाई नेपालबाट आएको विपत्तिको खबरले भावनात्मक रूपमा छोयो। पर्व पूरै रोकिएन तर यसको स्वर र प्राथमिकता फेरियो। नाचगानसँगै राहतको कुरा भयो, जमघटसँगै सहयोग संकलन भयो र रमाइलोसँगै पीडितप्रति ऐक्यबद्धता व्यक्त गरियो।
बाढीपीडितका लागि सहयोग जुटाउने अभियान बेलायतमा मात्र सीमित रहेन् । विश्वका विभिन्न मुलुकमा रहेका नेपाली पनि राहत तथा पुनस्र्थापनाका लागि जुटे। प्रवासमा बसे पनि जन्मभूमिको पीडा आफ्नै पीडा हो भन्ने भावना फेरि एकपटक व्यवहारमै देखियो। बाढीले ल्याएको शोक र पीडाबीच केही समय रोकिएको बेलायतको नेपाली समुदायको नियमित गतिविधि भने अब बिस्तारै पुरानै लयमा फर्किन थालेको छ। तर विपद्ले छाडेको भावनात्मक प्रभाव अझै मेटिएको छैन। कार्यक्रमहरू अगाडि बढे पनि बाढीपीडितको सहयोग, पुनस्र्थापना र नेपालप्रतिको चासो समुदायको प्राथमिकतामै छ।
यसपालि बेलायतको तीजमा विगतको जस्तो रौनक नदेखिए पनि त्यसको ठाउँमा सहानुभूति, ऐक्यबद्धता र सहयोगको भावना अझ बलियो भएको देखियो। देश पीडामा रहेका बेला आफ्नो खुशी केही कम गरेर अरूको दुःख बाँड्ने यही भावनाले यस वर्षको तीजलाई फरक र स्मरणीय बनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


