बुधबार, १६ सेप्टेम्बर, २०२६
06:05 | १०:५०

तमु लम परिवार यूकेको पहिलो वार्षिक भेटघाट १० अक्टोबरमा

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२६

लन्डन । ‘बन्धुत्व, भातृत्व र एकता’ मूल नाराका साथ स्थापना भएको तमु लम परिवार यूकेले आफ्नो पहिलो वार्षिक भेटघाट कार्यक्रम आगामी १० अक्टोबर २०२६, शनिबार गर्ने भएको छ।

कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा दिउँसो ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

बेलायतमा रहेका तमु लम परिवारका सदस्यहरूबीच आपसी भेटघाट, आत्मीयता, भाइचारा तथा पारिवारिक सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार कार्यक्रमलाई परिवारका सबै सदस्यको साझा उत्सवका रूपमा अघि बढाउने तयारी गरिएको छ।

कार्यक्रममा तमु लम परिवार यूकेका आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, छोरी–चेली, ज्वाइँ, छोरा–छोरीलगायत सम्पूर्ण परिवारजनलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।

शैक्षिक तथा व्यावसायिक उपलब्धिको सम्मान

यस वर्ष तमु लम परिवार यूकेले परिवारभित्रका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत राखेको छ।

विशेषगरी सन् २०२६ का स्नातकहरू, सन् २०२६ मा सैन्य सेवामा अधिकृत दर्जामा नियुक्त भएका व्यक्तिहरू तथा सन् २०२६ मा विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेका व्यक्तिहरूलाई शैक्षिक तथा व्यावसायिक उपलब्धि पुरस्कारमार्फत सम्मान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी समुदाय तथा संस्थाको हितमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र नयाँ पहलकदमीमार्फत योगदान पुर्‍याउने व्यक्तिहरूलाई ‘नेतृत्व तथा पहलकदमी पुरस्कार’ प्रदान गरी संस्थाको तर्फबाट सम्मान गर्ने तयारी गरिएको छ।

आयोजकका अनुसार नयाँ पुस्तालाई शिक्षा, पेशा, नेतृत्व र सामाजिक सेवाका क्षेत्रमा अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले उपलब्धिको सम्मानलाई कार्यक्रमको महत्वपूर्ण पक्षका रूपमा समेटिएको हो।

सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन

कार्यक्रममा पारिवारिक भेटघाटसँगै विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि रहनेछन्। सांगीतिक धुन र प्रस्तुतिमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गर्दै कार्यक्रम थप उत्साहपूर्ण र रमाइलो बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

‘एकताको उत्सव मनाउने – आफ्नोपनको भावना जगाउने’ भावनासहित आयोजना हुन लागेको वार्षिक भेटघाटले बेलायतमा रहेका तमु लम परिवारका सदस्यहरूलाई एउटै थलोमा भेला गराई आपसी आत्मीयता, पारिवारिक सम्बन्ध र एकताको भावनालाई थप मजबुत बनाउने अपेक्षा छ ।

कार्यक्रम भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्न संयोजक तथा उपाध्यक्ष क्याप्टेन सूर्य प्रकाश गुरुङ, अध्यक्ष रामचन्द्र गुरुङ, छोरी–चेली प्रमुख बिनु गुरुङ तथा महासचिव एस. के. गुरुङ लगायतको नेतृत्वमा तयारी अघि बढिरहेको जनाइएको छ।

तमु लम परिवार यूकेले पहिलो वार्षिक भेटघाटलाई सम्पूर्ण परिवारको साझा उत्सवका रूपमा लिएको जनाउँदै सबै सदस्यलाई कार्यक्रममा समयमै उपस्थित भई आपसी सद्भाव, आत्मीयता र एकताको वातावरण निर्माण गर्न सहयोग गर्न आग्रह गरेको छ।

पहिलो वार्षिक भेटघाटमार्फत तमु लम परिवार यूकेले बेलायतमा रहेका परिवारजनबीचको सम्बन्ध अझ नजिक बनाउँदै बन्धुत्व, भातृत्व र एकताको भावनालाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य लिएको आयोजकको भनाइ छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू