सोमबार, २३ नोभेम्बर, २०२६
07:25 | १३:१०

पञ्चासे हरपन डाँडा समाज यूकेद्वारा बाढीपीडितका लागि १३ लाख सहयोग

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२६

लन्डन । पञ्चासे हरपन डाँडा समाज, यूकेले नेपालमा गएको बाढीबाट पीडितहरूका लागि तमुधिं यूकेमार्फत रु. १३ लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।

तमुधिं यूके भवन, मिचेटमा सोमबार एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तमुधिं यूकेका ट्रष्टी सूर्य गुरुङ, ट्रष्टी तथा पूर्व अध्यक्ष ज्ञाम गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, सचिव विमल गुरुङ, अफिसियल फोटोग्राफर मिलन तमुको उपस्थिति थियो ।

त्यसैगरी, पञ्चासे हरपन डाँडा समाज, यूकेका अध्यक्ष देवकाजी गुरुङ तथा उनकी धर्मपत्नी श्रीमती रील शुभा गुरुङ, उपाध्यक्ष रवि गुरुङ, कोषाध्यक्ष कृष्ण घले, महासचिव प्रकाश गुरुङ तथा श्रीमती सङ्गीना गुरुङ साथै सल्लाहकार मोन गुरुङ र श्रीमती धर्मावती गुरुङको पनि उपस्थिति थियो ।

कार्यक्रममा पञ्चासे हरपन डाँडा समाज, यूकेका अध्यक्ष देवकाजी गुरुङले आफूहरू गुरुङ समाजसँग सम्बन्धित भएको र तमुधिं यूके ठूलो र अभिभावकीय साझा संस्था भएकाले नेपालका बाढी पीडितहरूलाई सहयोग रकम तमुधिं यूकेमार्फत हस्तान्तरण गरिएको प्रष्ट पारे । उनले आगामी दिनमा समेत थप रकम सङ्कलन भए तमुधिं यूकेमार्फत नै सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

तमुधिं यूके सचिव विमल गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा पञ्चासे हरपन डाँडा समाज, यूकेका महासचिव प्रकाश गुरुङले आफूहरूका निकट बाढी पीडित ७ परिवारलाई प्रति परिवार रु. ५० हजारका दरले जम्मा रु. ३ लाख ५० हजार यसै रु. १३ लाख रकमबाट हस्तान्तरण गरिदिन अनुरोध गरे ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले आफूहरुले सञ्चालन गरेको बाढी पीडित सहयोग अभियानमा यसरी हातेमालो गरी महत्वपूर्ण सहयोग पुर्‍याएकामा पञ्चासे हरपन डाँडा समाज, यूकेका सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।

यसैबीच, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ तथा सचिव विमल गुरुङसहितको ५ सदस्यीय टोली यही २० सेप्टेम्बरका दिन नेपाल जाने र विभिन्न व्यक्ति तथा समाजबाट प्राप्त सहयोग रकम बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिइएको थियो ।

तमुधिं यूकेले यस पूण्य कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरू तथा व्यक्ति र संस्थाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू