शनिबार, १२ सेप्टेम्बर, २०२६
21:16 | ०२:०१

लर्ड्समा नेपाली युवाको असाधारण प्रदर्शन- क्लब इसीबी नेशनल च्याम्पियन, आफू ‘म्यान अफ द सिरिज’

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२६

लन्डन- क्रिकेटको मक्का मानिने लण्डनको प्रतिष्ठित लर्ड्स क्रिकेट ग्राउन्डमा नेपालीमूलका १५ वर्षीय युवा दिपेश सापकोटाले असाधारण प्रदर्शन गर्दै आफ्नो कप्तानीको क्लबलाई नेशनल च्याम्पियन बनाएका छन् ।

बलिङ र कप्तानीमा नमुना पेश गरेका उनको चमत्कारिक स्पेलको मद्दतमा क्यारिङटन क्रिकेट क्लबले ६४ रनको सामान्य योगफल जोगाउँदै अण्डर १५ ‘इसीबी भाइटिलिटी’ क्लबको उपाधि आफ्नो नाममा गरेको छ।

फाइनलमा निर्णायक प्रदर्शन गरेका दिपेश प्रतियोगिताकै ‘म्यान अफ द सिरिज’ घोषित भए।

नेपालको गुल्मी जिल्ला स्थायी घर भई बेलायतमा हुर्केका दिपेशले नटिङहमशायर काउन्टीको युवा संरचनाबाट आफ्नो खेल जीवन निखार्दै लगेका हुन्। फाइनल खेलमा ब्याटिङतर्फ टिमले ठूलो योगफल खडा गर्न नसके पनि दिपेशको अनुशासित बलिङ र उत्कृष्ट फिल्डिङले खेललाई पूर्ण रूपमा मोडिदियो। उनले आफ्नो ४ ओभरको स्पेलमा २ मेडन राख्दै मात्र ५ रन दिएर २ विकेट लिए भने १ खेलाडीलाई रन आउट गराएर विपक्षी टिमलाई सस्तैमा समेट्न मुख्य भूमिका खेले।

बनबरी फेस्टिभलदेखि मुम्बईको वानखेडे स्टेडियमसम्मको यात्रा

दिपेशले नटिङहमशायर काउन्टी टोलीको प्रतिनिधित्व गर्दै इसीबीको प्रतिष्ठित बनबरी क्रिकेट फेस्टिभलमा समेत आफ्नो उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।

त्यसैगरी, गत वर्ष फेब्रुअरीमा मात्र १४ वर्षको उमेरमा नटिङहमशायरको एकेडेमी टोलीमा छनोट भई भारतको ऐतिहासिक वानखेडे स्टेडियममा समेत खेल्ने दुर्लभ अवसर प्राप्त गरेका थिए।

अन्तर्राष्ट्रिय स्तरका ठूला मैदान र प्रतिष्ठित प्रतियोगिताहरूमा प्राप्त यो अनुभवले नै उनलाई परिपक्व खेलाडी बनाएको छ। दिपेशको यो यात्राले नेपालीहरूले पनि क्रिकेटको उच्च तहमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन् र विश्व क्रिकेटमा प्रतिभावान नेपाली खेलाडीहरू छन् भन्ने बलियो सन्देश र विश्वास सम्पूर्ण नेपाली समुदायमा जगाएको छ।

दिपेशका पिता नटिङहम नेपाली समाजका पूर्व अध्यक्ष एवं साझा नेपाली समाज बेलायतका निवर्तमान अध्यक्ष दिपक सापकोटा र aamaa सीता सापकोटाको निमन्त्रणामा ऐतिहासिक लर्ड्स मैदानमा डेढ सय बढी बेलायतवासी नेपाली समुदायका प्रतिनिधि तथा खेलप्रेमीहरू टोलीलाई हौसला दिन उपस्थित भएका थिए। आफू पनि पूर्व क्रिकेट खेलाडी रहेका दिपक सापकोटाको क्रिकेटप्रतिको विशेष लगाव र पहलका कारण उक्त दिन मैदानमा नेपाली समुदायको बाक्लो उपस्थिति देखिएको थियो।

खेल हेर्न गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष महेन्द्र कँडेल तथा वर्तमान अध्यक्ष राजेन्द्र पुडासैनी, नटिङहम नेपाली समाजका संस्थापक अध्यक्ष एवं साझा नेपाली समाज बेलायतका पूर्व अध्यक्ष रणबहादुर खाती, नटिङहम नेपाली समाजका वर्तमान अध्यक्ष लोकनाथ अधिकारी, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष रामप्रसाद न्यौपाने र उपाध्यक्ष निशेन्तमान बज्राचार्य, साझा नेपाली समाजका पूर्व अध्यक्ष एवं ट्रस्टी महेश अधिकारी, सञ्चारकर्मीharu नवीन पोखरेल र ध्रुवराज अर्यालसहित बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय खेलप्रेमीहरू लेर्ड्स पुगेका थिए।

नेपाली मूलका युवा खेलाडीले लर्ड्स जस्तो प्रतिष्ठित मैदानमा कप्तानी गर्दै टिमलाई ऐतिहासिक उपाधि दिलाएपछि बेलायतस्थित नेपाली समुदायमा खुसीको लहर छाएको छ। दिपेशको यो सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली युवाहरूको प्रतिभा र क्षमतालाई थप उचाइमा पुर्याएको विश्वास लिइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू