लन्डनमा ‘नेपाल टेक रोड शो यूके’, नेपालका झण्डै दुई दर्जन आइटी उद्यमी एउटै मञ्चमा


लन्डन । विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम वुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आइटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ ।
आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोश्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई नेपालको सूचना प्रविधि क्षेत्रमा विश्वास, लगानी र साझेदारी गर्न आह्वान गरे ।
कार्यक्रममा नेपालको उदीयमान ‘प्रविधि इकोसिस्टम’ बारे वहससहित नेपाली आइटी जनशक्तिले विश्वव्यापी ग्राहकहरूका लागि सफ्टवेयर, एआई, क्लाउड वर्क आदि सेवा प्रदान गरिरहेका जनाइयो ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस् कम्पनीज (नास–आइटी) ले बुधबार लन्डन हिथ्रोस्थित रेडिसन ब्लुमा कार्यक्रम गरेको हो ।
ब्रिटिश विदेश, कमनवेल्थ तथा विकास मन्त्रालयको सहयोगमा आयोजित ‘नेपाल टेक रोड शो युके २०२६’ मा प्रस्तुति दिंदै नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास–आइटी) का उपाध्यक्ष विभूषण विष्टले नेपालमा अहिले वर्षेनी झन्डै १० हजार आइटी स्नातकहरु उत्पादन भइरहेको जनाए ।
उनले आइआइडीएसको एक अध्ययन अनुसार नेपालने सन् २०२२ मा झन्डै ५१ करोड अमेरिकी डलर बराबरको आइटी सम्बन्धी सेवाहरु निर्यात गरेको र सन् २०२६ मा त्यस्तो सेवा झन्डै ८० करोड डलर पुगेको अनुमान गरिएको बताए ।
उनले नेपालले छिट्टै वर्षेनी १ अर्ब डलर बराबरको आइटी सम्बन्धी सेवाहरु विदेश निर्यात गर्ने लक्ष्य लिएको जनाए ।
नास–आइटीका संस्थापक बोर्ड सदस्य निर्देश द्वाले नेपाली कम्पनीहरुले अमेरिका, युरोप लगायत मुलुकका ठूला कम्पनीहरुसंग मिलेर काम गरिरहेको बताउंदै ब्रिटिश कम्पनीहरुलाई पनि नेपाली कम्पनीहरुसंग मिलेर काम गर्न आग्रह गरे। ‘नेपाली युवाहरु अंग्रेजी बोल्छन्, टाइम जोन पनि झन्डै ५ घण्टाको मात्रै फरक छ, हामी तपाईंहरुसंग सहकार्य गर्न तयार छौं’, उनले भने ।
काठमाडौंस्थित ब्रिटिश राजदूतावासका व्यापार तथा लगानी, व्यवसाय, नवप्रवर्तन एवं विज्ञान विभाग प्रमुख अनुप श्रेष्ठले सूचना प्रविधि र नवप्रवर्तनलाई प्रवर्धन गर्ने बेलायती सरकारको प्राथमिकतामाथि प्रकाश पारे ।
उनले नेपाली प्रविधि कम्पनीहरूलाई बेलायती बजारमा प्रवेश गर्न तथा आफ्नो व्यवसाय विस्तारका लागि पहल गर्न आग्रह गर्दै नेपाल र बेलायतका व्यवसायबीच थप सहकार्यका लागि ब्रिटिश दूतावास सहजीकरण तथा सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालको युवा जनसंख्या र उच्चस्तरको आइटी साक्षरता मुलुकका महत्वपूर्ण प्रतिस्पर्धात्मक क्षमता भएको बताए ।
‘ग्लोवल आउटसोर्सिङ ट्यालेन्ट इन्डेक्स् २०२६’ मा नेपालको स्थान अग्रपंक्तिमा रहेको स्मरण गर्दै दुवाडीले नेपाली सूचना प्रविधि व्यवसायीहरु साझेदारका रुपमा काम गर्न तयार भइसकेको बताए ।
नेपाल सरकारले ‘बोर्डर लेस इकोनोमी’ र ‘वेट लेस ट्रेड’ लाई प्राथमिकता दिएको उल्लेख गर्दै दुवाडीले आइटीलाई राष्ट्रिय रणनीतिक उद्योगका रुपमा लिने सरकारको नीति रहेकाले बेलायतका व्यवसायीलाई लगानी र व्यापारिक साझेदारी गर्न प्रोत्साहित गरे ।
दुवाडीले नेपाली आइटी कम्पनीहरूले विश्वका विभिन्न मुलुकका व्यवसायलाई सेवा प्रदान गरिरहेको उल्लेख गर्दै सरकारले आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा थप विकास गर्न चाहेको बताए ।
सूचना प्रविधि क्षेत्रको व्यवसायलाई बढवा दिन सकिए बेलायत र नेपालबीचको व्यापार बढ्ने धारणा पनि उनको थियो । हाल बेलायत नेपालबीच वार्षिक ३०० मिलियन पाउण्ड हाराहारीमात्र व्यापार छ ।
दूतावासले व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीलाई अगाडि बढाउन निरन्तर कार्यक्रम गरिरहेको पनि दुवाडीले जनाए ।
वेष्ट लन्डन चेम्बर अफ कमर्सका सीइओ एलन राइड्सले गत जुलाईमा आफ्नो संस्थाले दूतावासको पहलमा नेपाल उद्योग परिसंघ तथा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच एमओयू (समझदारी पत्र) मा हस्ताक्षर गरेको स्मरण गर्दै नेपाली आइटी कम्पनीहरूसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विराज भट्टले नेपाल र बेलायतबीच व्यापार तथा व्यवसाय प्रवर्धन र सहजीकरणमा संस्थाले भूमिका निर्वाह गर्दै आएको प्रकाश पारे ।
कार्यक्रममा जेनेस सोलुसनका सीइओ अन्जनी फुयाल र सिम्प्लिफाइड सोलुसन्स्का संस्थापक सुरज ज्ञवालीले बेलायतमा व्यवसाय सञ्चालन गर्दाका संघर्ष, सफलता र अनुभवहरू साटासाट गरे ।
डा. भगवान ओझाले एआई र डेटा इन्जिनियरिङबारे प्रस्तुतिकरण दिए । अन्त्यमा डिएआइका टिम लिडर रतिश बस्नेतले सबैप्रति धन्यवाद व्यक्त गरे ।
नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा चिनाउने लक्ष्यसहित अगाडि बढिरहेको नास–आइटीले यसअघि अमेरिका र अष्ट्रेलियामा समेत ‘नेपाल टेक रोड शो’ गरिसकेको छ भने १६ सेप्टेम्बरमा स्वीटजरल्याण्डमा हुंदैछ । नेपालका प्रमुख ८५ बढी आइटी कम्पनी यस संस्थाका सदस्य छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


